बागमती प्रदेशमा पहिलो पाँचवर्षे कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याइएको छ । गठबन्धनको सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेश सभामा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा गठबन्धनको सरकारले पुरानो कार्यक्रमलाई नै प्राथमिकतामा राखेको छ । यसअघिका सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
बागमती सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्दा गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व बृद्धि, दिगो पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण र सन्तुलन, असमानता र गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकरूको सहज पहुँचलाई प्राथमिकता दिइएको प्रदेश सभामा प्रदेश प्रमुख शर्माले बताए ।
बागमती सरकारले नीति तथा कार्यक्रमअनुसार अघिल्लो आर्थिक वर्षमा अघिल्ला योजनालाई प्राथमिकतामा राख्दै प्राविधिक शिक्षा, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम, एक विद्यालय, एक नर्स, छोरी बुहारीलाई छात्रबृत्ति, वैज्ञानिक खोज अनुसन्धान परिषद् स्थापना गर्ने, सहयोगापेक्षी सडक मानवमुक्त बागमती प्रदेश बनाउने कार्यक्रम अघि सारेको छ ।
अघिल्ला योजनालाई यसपटक पनि समेट्दै युवा सचेतना अभियान अघि बढाइने, एक घर, एक धारा कार्यक्रम अघि बढाइने, नदी व्यवस्थापनसहित जमिन उकास, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना, बाँझो जमिन बैंक स्थापना, एक वडा, एक पशु स्वास्थ्य क्लिनिक, सीप सिकौँ, उद्यमशील बनौँ कार्यक्रम, रुबीभ्याली एकीकृत विकास कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यी हुन् नयाँ योजना
बागमती सरकारले केही नौलो योजनालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेको छ । बागमतीमा सरकारले कृषि, स्वास्थ्य, शिक्षा र युवाको क्षेत्रमा नयाँ योजनालाई प्राथमिकता दिँदै नीति तथा योजनामा समेटेको हो । समतामूलक समाजको निर्माण गर्न वडास्तरबाट अभ्यास गर्ने गरी ‘नमुना वडा समाजवादी कार्यक्रम’ अघि बढाउने उल्लेख छ । नयाँ योजनाको रूपमा नीति तथा कार्यक्रममा ५० बेडको सुविधासम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने समेटिएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै जनयुद्ध र जनआन्दोलनका घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था गरिने, ‘स्वास्थ्य जीवनशैली प्रवर्धन, बागमती प्रदेशको अभियान’लाई अघि बढाइने, ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
हेटौँडा, भक्तपुर, त्रिशुली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाईं स्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गर्ने, कक्षा ११ र १२ मा अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित समुदायका छात्रछात्रामध्ये प्रतिस्थानीय तहका एकजनालाई शैक्षिक छात्रबृत्ति प्रदान गरिने, इनोभेसन सेन्टर स्थापना गरिने, बीसजनाभन्दा बढी ज्येष्ठ नागरिकसहित सञ्चालनमा रहेका बृद्धाश्रममा नर्सिङ सेवा उपलब्ध गराइने, चेपाङ विशेष संरक्षित क्षेत्र बनाइने, ‘बगमती प्रदेश, पूर्ण उज्यालो प्रदेश’ कार्यक्रम नयाँ योजनाको रूपमा अघि बढाइने उल्लेख छ ।
दर्जन बढी नारा
–स्वास्थ्य जीवनशैली प्रवर्धन, बागमती प्रदेशको अभियान
–बागमती प्रदेशको इच्छा, समृद्धिका लागि प्राविधिक शिक्षा
–हाम्रो ध्यान, युवा सचेतना अभियान
–एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा
–आत्मनिर्भर कृषि, समृद्ध प्रदेश
–खाद्य सुरक्षाका लागि उत्पादन, उत्पादनका लागि सिँचाइ
–नाफामूलक कृषिः किसानको समृद्धि
–स्वस्थ्य माटो, दिगो उत्पादनको मूल बाटो
–प्रदेशको सान, मौलिक कृषि हाम्रो पहिचान
–रोग हटाऔँ, उत्पादन बढाऔँ
–पशु्पन्छीको साहारा, गुणस्तरीय आहारा
–सीप सिकौँ, उद्यमशील बनौँ
–नियमित मर्मत सम्भारः दिगो सडकको आधार
–सहरी सडक पूर्वाधार सुधारः समुन्नत जीवनको आधार