प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश

उदयपुरवासीले पाँच दशकदेखि देखेको सपना बल्ल साकार हुँदै

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

चर्चा सुरु भएको पाँच दशकपछि उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश भएको छ । त्रियुगा नगरपालिका १ र २ मा प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल पहिलोपटक बजेटमा समावेश भएको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल निर्माण गरिने घोषणा गरे ।

विमानस्थल निर्माण अध्ययनका लागि गठन गरिएको प्रारम्भिक अध्ययन समितिका कोषाध्यक्ष रुद्र अधिकारीले पाँच दशकपछि नै भए पनि बजेटमा परियोजना परेको सुनेर खुसी लागेको बताए । ‘प्रस्ताव गरिएको पाँच दशकपछि आज आगामी आर्थिक वर्षको बजेट भाषणमा सगरमाथा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरिने कुरा सुनेर ज्यादै खुसी लागेको छ,’ अधिकारीले भने, ‘अब विमानस्थल बन्ने आशा पलाएको छ ।’ 

उदयपुरमा विमानस्थल बनाउने चर्चा ४९ वर्षअघिबाट सुरु भएको थियो । केही समयअघि विमानस्थलको काम अघि बढाउने भन्दै वन क्षेत्रमा रूख कटानका लागि छपानसमेत भएको अधिकारीले बताए । यसअघि सगरमाथा विमानस्थल चुनावी नारा मात्र बन्ने गरेको थियो । विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ भने प्रारम्भिक प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिसकिएको छ । केहीअघि रूख कटानको काम सुरु गर्ने भनिए पनि बजेट अभावले अघि बढ्न सकेको थिएन । प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकन हुनुभन्दा अगाडि तीन अलग–अलग ठाउँमा तीनपटक सारेर शिलान्यास गरिएको थियो । हाल सो विमानस्थल त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा निर्माण गर्ने भनिएको छ ।

जोगिदहमा बर्खामा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने भएकाले निर्माण गर्न उपयुक्त हुने प्राविधिक प्रतिवेदनले ठहर गरेको छ । प्रस्तावित डिजाइनमा एक हजार सात सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाइ रहेको धावनमार्ग, ७२ मिटर लम्बाइ र १८ मिटर चौडाइ रहेको ट्याक्सी वे, चार सय ४३ मिटर लम्बाइ र १८ मिटर चौडाइ रहेको अर्को ट्याक्सी वे रहने गरी डिजाइनको प्रस्ताव गरिएको छ । 

See More On

सुझावित समाचार