अब ६८ वर्षमै वृद्धभत्ता : राज्यलाई साढे नौ अर्ब व्ययभार

१६ लाखले वृद्धभत्ता पाउने, सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३७ लाख पुग्ने

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाएर ६८ वर्ष बनाएको छ । यसअघि ७० वर्ष थियो । दुई वर्ष उमेर घटाउँदा राज्यकोषमा वार्षिक कम्तीमा नौ अर्ब ६० करोड भार थपिएको छ । नेपालीको औसत आयु बढेर ७१ वर्ष पुगेका वेला अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै ज्येष्ठ नागरिक भत्ता (वृद्धभत्ता) पाउने उमेर ७० बाट घटाएर ६८ मा झारेका हुन् । योसँगै ६८ र ६९ वर्ष उमेरका कम्तीमा दुई लाख नागरिक लाभान्वित हुँदा वार्षिक नौ अर्ब ६० करोड व्ययभार थपिनेछ । ज्येष्ठ नागरिक सुरक्षा भत्ता मासिक चार हजार रुपैयाँ छ ।

‘यो घोषणाले कति लाभान्वित हुन्छन् भनेर त पछि हरहिसाब आउला, तर तथ्यांक विभागको आँकडालाई हेर्ने हो भने डेढदेखि दुई लाख लाभान्वित हुन्छन् होला,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले भने ।हाल १४ लाखले ज्येष्ठ नागरिक भत्ता (कर्णालीमा ६० वर्षदेखि माथिका)ले मासिक चार हजार पाउने गरेकामा सरकारले चुनावी बजेटमार्फत राज्यमाथिको दायित्व बढाइदिएको हो । हाल वृद्धभत्तामा मात्र कम्तीमा वार्षिक ६७ अर्ब २० करोड खर्च हुने गरेको छ । 

सामाजिक सुरक्षा भत्ता नलिने भनेर स्वघोषणा गरेमा सरकारले सम्मान गर्ने पनि बजेटमा उल्लेख छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१÷५२ मा ज्येष्ठ नागरिक भत्ताको घोषणा गरेका थिए । त्यतिखेर नेपालीको औसत आयु ६० वर्ष हुँदा उनले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँ भत्ताको सुरुवात गरेका थिए । ०५२ बाट सुरु भएको भत्ता करिब आठ वर्षसम्म बढेन । ०६० मा पुनः अर्थमन्त्री बनेका भरतमोहन अधिकारीले वृद्धभत्ता बढाएर मासिक एक सय ७५ रुपैयाँ कायम गरेका थिए ।

०६५ मा अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईले भत्ता बढाएर पाँच सय पुर्याउँदा ०७१ मा अर्थमन्त्री डा. रामशरण महतले एक हजार रुपैयाँ कायम गरिदिएका थिए । अर्थमन्त्री विष्णु पौडेलले ०७२ मा शतप्रतिशत बढाएर मासिक दुई हजार पुर्याएका थिए । १० माघ ०७४ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी नतिजा आइसकेको अवस्थामा मन्त्रिपरिषद्बाट निर्णय गरेर वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ कायम गरेका थिए । तर, त्यसलगत्तै आएको सरकारले उक्त निर्णय कार्यान्वयन गरेन । त्यसपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भत्ता बढाएर तीन हजार कायम गर्दा गत वर्ष चार हजार रुपैयाँ पुर्याइएको थियो । यसपटक अर्थमन्त्री शर्माले भत्ता दर नबढाए पनि उमेर भने घटाइदिएका छन् ।

 सामाजिक सुरक्षामै वार्षिक एक खर्ब ३४ अर्ब 
सरकारले सामाजिक सुरक्षामै वार्षिक एक खर्ब ३४ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा ६८ वर्षदेखि माथिका ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता भएका नागरिक, २५ जिल्लाका पाँच वर्षसम्मका बालबालिका, दलित बालबालिका र एकल महिला पर्छन् । उनीहरूलाई सामाजिक सुरक्षा भत्ता, औषधि उपचार तथा आर्थिक सहयोग उपलब्ध गराउने गरिएको छ ।

 विभागका महानिर्देशक भट्टराईका अनुसार हाल नेपालमा ३५ लाख नागरिकले विभिन्न किसिमका सामाजिक सुरक्षाको उपभोग गर्ने गरेका छन् । ६८–६९ वर्ष उमेरका नागरिकलाई पनि भत्ता दिँदा यो संख्या बढेर कम्तीमा ३७ लाख पुग्नेछ । यसबाहेक भत्ता पाउँदै आएकाको जनसंख्या पनि बढ्न सक्छ । आगामी आवमा यो बजेट बढाएर एक खर्ब ३४ अर्ब एक करोड पुर्याइएको छ ।

See More On

सुझावित समाचार