रियल म्याड्रिड १४औँपटक च्याम्पियन

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

स्पेनिस क्लब रियल म्याड्रिडले १४औँ पटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पेरिसमा शनिबार राति सम्पन्न फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियलले कीर्तिमानी रूपमा १४औँपटक च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक फाइनलमा रियललाई च्याम्पियन बनाउन ब्राजिली खेलाडी भिनिसियस जुनियरले एक मात्र निर्णायक गोल गरेका थिए । उनले ५९औँ मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए । पेरिसमा भएको फाइनल खेलमा १६औँ मिनेटमा लिभरपुलका मोहमद सलाहले क्लोज रेन्जबाट गोल गर्न सकेनन् । सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक थिवाउटले उत्कृष्ट बचाउ गरे । 

२१औँ मिनेटमा साडियो मानेले प्रहार गरेको बल पहिलो बारमा लाग्दा लिभरपुलले अग्रता लिने अवसर चुकायो । ४२औँ मिनेटमा करिम बेन्जेमाको गोललाई भिएआरमार्फत  अफसाइड भयो । 

  एन्सेलोटीको कीर्तिमान
रियलले च्याम्पियन्स लिगको उपाधि हात पार्दा मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी आफ्नो नाममा पनि रेकर्ड बनाए । चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । प्रशिक्षक एन्सेलोटीले च्याम्पियन्स लिगको सर्वाधिक उपाधि जित्ने प्रशिक्षकमा बोब पेस्ली र जिनेदिन जिदानलाई पछि पारे । बोब र जिदानले समान तीनपटक उपाधि जितेका छन् ।

बोब लिभरपुलबाट सन् १९७७, १९७८ र १९८१ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए । जिदानले रियललाई सन् २०१६, २०१७ र २०१८ मा च्याम्पियन बनाए । एन्सेलोटीले खेलाडीका रूपमा एसी मिलानबाट १९८९ र १९९० मा उपाधि जितेका छन् । उनले इटालियन क्लब एसी मिलानलाई सन् २००२–०३ र २००६–०७ मा च्याम्पियन्स लिग दिलाएका थिए । एन्सेलोटीको प्रशिक्षणमा रियलले २०१३–१४ को सिजनमा च्याम्पियन्स लिग जितेको थियो । 

 लिभरपुलले बदला लिन सकेन 
रियलले सन् २०१८ मा अन्तिमपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । पछिल्लो नौ सिजनमा रियलले पाँचौँपटक च्याम्पियन्स लिग उपाधि उचालेको हो । प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा रियलले लगातार उपाधिमाथि ह्याट्रिकको कीर्तिमान राखेको थियो । रियलसँगको हारसँगै लिभरपुल यस सिजनमा तीन उपाधि जित्ने सपना पूरा गर्न सकेन । लिभरपुलले यस सिजनमा दुई उपाधि मात्र जित्यो । लिभरपुलले २०१८ को च्याम्पियन्स लिगको फाइनलमा भोगेको हारको बदला रियलसँग लिन असमर्थ भयो । 

सुझावित समाचार