आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याइने, निजगढ पनि अगाडि बढाइने

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी पर्वद्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको विकास तथा पर्वद्धनका लागि नौ अर्ब ३८ करोड विनियोजन गरेको बताएका छन् । नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा पर्वद्धन  गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारका रूपमा स्थापित गरिने भएको छ । 

निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी दुई घन्टामा सगरमाथा क्षेत्रमा पुगेर अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिने बजेटमा घोषणा गरिएको छ । मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्न सडक स्तरोन्नति, बिरेठाँटी–मुक्तिनाथ केवलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने भएको छ । पाँच सय वर्षभन्दा पुराना हिमाली गुम्बाहरूको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

कोभिडबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसम्बद्ध व्यवसायको आर्थिक वर्ष ०७९/८० को वार्षिक इजाजत र नवीकरण दस्तुरमा छुट, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिइएको छ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक  सम्पदाहरूको पुनर्निर्माणका लागि आगामी आवभित्र सम्पन्न गर्न दुई अर्ब विनियोजन गरेका अर्थमन्त्री शर्माले बताएका छन् ।

पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, पहाडी तथा हिमाली क्षेत्रमा साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि हिल स्टेसनहरू विकास गर्न प्रोत्साहित गर्ने पनि बजेटमा उल्लेख छ । स्थानीय तहको लागत साझेदारीमा दुई सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड विनियोजन गरिएको छ । आरोहणका लागि खुला गरिएका हिमालहरूको आधार शिविरसम्म जाने पदमार्गको स्तरोन्नति गरिने भएको छ । 

 हवाई पूर्वाधार प्राथमिकतामा
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को पुनर्संरचना गरी सेवाप्रदायक र नियामकका रूपमा छुट्टाछुट्टै निकाय स्थापना गर्ने घोषणा गरेको छ । गत हप्ता सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरे पनि सरकारले निजगढ विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकासको काम अगाडि बढाउने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ट्याक्सी–वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि दुई अर्ब २० करोड विनियोजन गरिएको छ । 

धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण कार्य अगाडि बढाउने, उदयपुर विमानस्थल निर्माण कार्य प्रारम्भ गर्ने कार्यक्रमहरू पनि बजेटमा समेटिएका छन् । हवाई पूर्वाधार विकासका लागि आगामी बजेटमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

See More On

सुझावित समाचार