गृहको बजेट झन्डै दुई खर्ब, रक्षाका लागि ५५ अर्ब विनियोजन

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व गर्ने गृह मन्त्रालयको आगामी बजेट झन्डै दुई खर्ब पुगेको छ । यो चालू आवको तुलनामा १०.६६ प्रतिशतले धेरै हो ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको बजेट विवरणअनुसार गृहलाई आगामी आवका लागि एक खर्ब ८५ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो चालू आवको बजेटमा भन्दा १७ अर्ब ९२ करोड २७ लाख रुपैयाँ अर्थात् १०.६६ प्रतिशतले धेरै हो । गत वर्ष चालू आवका लागि अर्थले गृहलाई एक खर्ब ६८ अर्ब दुई करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 आगामी आवका लागि विनियोजित बजेटमध्ये एक खर्ब ७४ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ चालू खर्च हो । बाँकी १० अर्ब १८ करोड ८१ लाख रुपैयाँ पुँजीगत खर्च हो । बजेट विवरणअनुसार सरकारले गृहका लागि एक खर्ब ८० अर्ब ४६ करोड ७५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउनेछ । तीन अर्ब ३० करोड ५० लाख रुपैयाँ दातृ निकायबाट प्राप्त अनुदान र एक अर्ब २६ करोड २० लाख रुपैयाँ ऋणबाट उपलब्ध गराई दिनेछ ।

विनियोजित बजेट अन्तर्राष्ट्रिय सीमा सुरक्षामा खर्च गरिनेछ । सीमा क्षेत्रमा आधुनिक प्रविधि जडान गरिनेछ । जसबाट सीमा क्षेत्रमा हुने अपराध र अवैध कारोबार नियन्त्रण हुनेछन् । बढ्दो साइबर अपराधलाई नियन्त्रण गर्न अत्याधुनिक उपकरण जडान गरिनेछन् । जसबाट अपराध अनुसन्धान र विश्लेषण प्रभावकारी हुनेछ । यस अवधिमा मुलुकका सबै अध्यागमन कार्यालय अत्याधुनिक बनाइने छ। नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरणसहितको अभिलेख राख्न विद्युतीय प्रणालीलाई आद्यावधिक गरिनेछ । अध्यागमनको सेवा अत्याधुनिक एवं डिजिटलाइज गरी अन्तर्राष्ट्रियस्तरको बनाइने बजेटमा उल्लेख छ ।

 दुई वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने
सरकारले दुई वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षभित्र थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने बजेटमा उल्लेख छ । वैयक्तिक सूचना प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाउन व्यक्तिगत घटना दर्तालाई विद्युतीय प्रणालीमा आबद्ध गरी सबै वडासम्म विस्तार गरिने अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा जनाइएको छ ।

निर्माणाधीन केन्द्रीय कारागार नुवाकोट, क्षेत्रीय कारागार बाँके, मोरङ, पाँचथरलगायत दशवटा कारागार भवनको निर्माण गर्न र पुराना कारागार भवनको मर्मत सुधार गर्न ३७ करोड विनियोजन गरिएको छ । खुला कारागार नीति कार्यान्वयन गर्न आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख छ । 

 रक्षाको बजेट चालू आवको तुलनामा ४.६८ प्रतिशतले वृद्धि
सैनिक संगठन नेतृत्व गर्ने रक्षा मन्त्रालयको बजेट चालू आवको भन्दा ४.६८ प्रतिशतले बढेर ५५ अर्ब तीन करोड ९५ लाख रुपैयाँ पुगेको छ । चालू आवमा रक्षाको बजेट ५२ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

See More On

सुझावित समाचार