वन, वातावरणको बजेट एक अर्बले घट्यो

चालू आवमा १४ अर्ब १३ करोड विनियोजन, आगामी आवमा १३ अर्ब

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

उत्पादनमूलक क्षेत्रमा केन्द्रित बजेट ल्याएको सरकारले वन तथा वातावरण क्षेत्रको बजेट एक अर्बले कटौती गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव ०७९/८० को बजेट प्रस्तुत गर्दै वन तथा वातावरण क्षेत्रमा १३ अर्ब रुपैयाँ छुट्याइएको बताएका हुन्, जुन चालू आवभन्दा एक अर्ब १३ करोड कम हो । चालू आवमा वन तथा वातावरण क्षेत्रमा १४ अर्ब १३ करोड बजेट थियो । सरकारले आगामी आवका लागि वन तथा वातावरण क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । वन क्षेत्रलाई वातावरण संरक्षण, दिगो विकास, रोजगारी सिर्जना र आर्थिक वृद्धिको महत्वको रूपमा विकास गरी सिल्भिकल्चर प्रणालीका आधारमा दिगो वन व्यवस्थापन गर्ने उल्लेख बजेटमा छ ।

त्यस्तै, सामुदायिक वन विकास कार्यक्रममार्फत थप २३ लाख हेक्टर सामुदायिक वनको व्यवस्थापनबाट स्थानीयस्तरमा वनजन्य वस्तुको माग पूरा गरेर रोजगारीमा टेवा पुर्याउने लक्ष्य सरकारले लिएको छ । सरकारले हरेक वर्ष बजेटमा निजी वनको रूख कटान गरी कृषिबालीसरह ओसारपसारको घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । आगामी आवको बजेटमा पनि सोही कार्यक्रम दोहोर्याएको छ । 

अघिल्ला वर्षझैँ वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशसँगको सहकार्यमा निजी वन र विकासका लागि वृक्षारोपण गर्न एक करोड बिरुवा वितरण गरिने भएको छ । यसअघिका वर्षमा घोषणा हुँदै आएकोमा सहरी वन विकासलाई ‘जनताको रहर : हरित सहर’ अभियानमा परिवर्तन गरिएको छ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि दुई अर्ब १७ करोड विनियोजन गरेको छ ।

See More On

सुझावित समाचार