विश्वका प्रतिष्ठित फिल्म फेस्टिवलहरूमा सहभागी सेलिब्रेटीले लगाउने पहिरन (ड्रेस)ले निकै ठूलो महत्व राख्छ । उनीहरूको पहिरन, पहिरनको रंग कसले डिजाइन गर्यो भन्ने विषयले विश्वका सञ्चारमाध्यममा विशेष स्थान पाउँछन् ।
फ्रान्समा हालै सम्पन्न कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा नेपालकी अभिनेत्री सुरक्षा पन्तले पनि सहभागिता जनाएकी छिन् । उनी नेपालबाट रेड कार्पेटमा ‘वाक’ गर्ने पहिलो कलाकार मात्रै बनिनन्, उनले लगाएको ‘ड्रेस’ उत्कृष्ट १५ मा समेत पर्न सफल भएको छ । सुरक्षाले रेड कार्पेटमा हिँड्ने वेला लगाउने ‘ड्रेस’ तयार पार्न मैले जिम्मा पाएको थिएँ ।
ड्रेस तयार पार्ने जिम्मेवारी पाएपछि मैले ‘रिसर्च’ गरेको थिएँ । फिल्म फेस्टिवल हुने स्थान, रेड कार्पेटमा पुग्ने ठाउँ र उनले अभिनय गरेको फिल्म ‘द एइट् माउन्टेन्स’को ट्रेलर हेरेँ । त्यसपछि मात्रै ड्रेस डिजाइन सुरु गरेँ । डिजाइन र रंग छनोट मेरा लागि सकसपूर्ण भयो । ड्रेस राम्रो भएर मात्रै हुँदैन, सबै हिसाबले ‘कम्फर्ट’ हुनुपर्छ । साथै नेपालको इज्जतसमेत जोडिएको हुन्छ । ड्रेसमा नेपालीपन देखाउनु अर्काे चुनौती थियो ।
सुरक्षाको कान्स यात्रा
कान्स सहभागी हुन सुरक्षालाई अन्तिम समयमा मात्रै निमन्त्रणा आयो । फ्रान्सको ‘भिसा अप्लाई’ गर्न भारत जानुपर्ने भयो । भिसा दिन्छ कि दिँदैन भन्ने डर थियो । भिसाकै ग्यारेन्टी नभई ड्रेस तयारमा पनि अन्योल थियो । भिसा दिए पनि नदिए पनि म तयारीमा लागेँ । भिसा लागेपछि हामीसँग दुई दिन मात्रै बाँकी थियो । हलिउड बलिउडमा रेड कार्पेटमा हिँड्न महिनौँदेखि तयारी हुन्छ । ड्रेस डिजाइनमा निकै समय खर्चिन्छन् । तर, हामीले त्यो सुविधा पाएनौँ ।
भिसा लाग्नुअघि नै ड्रेसको कपडा, रङ र डिजाइनबारे छलफल गरिसकेका थियौँ । ड्रेसमा नेपालको झन्डा हुनुपर्छ भन्ने मान्यता राखेका थिएनौँ । नेपालको झन्डाले मात्रै नेपाली देखाउँछ भन्ने होइन । यो विषयमा सुरक्षा र म सहमत भयौँ । तर, फरक खालको ड्रेस डिजाइन गरौँ न भन्ने लाग्यो ।
सारी बलिउडमा चर्चित छ । बलिउडका अधिकांश नायिकाले साडी लगाएर रेड कार्पेटमा हिँडिसकेका छन् । कान्स फेस्टिवलमा नेपालले पहिलोपटक प्रतिनिधित्व गर्दै गर्दा ड्रेस पनि ‘नोटिस’ हुने खालको हुनुपर्यो । त्यस्तो ड्रेस तयार गर्नु थियो । रातो रङसँग महिलाको सेन्टिमेन्ट जोडिएको हुन्छ । यसले महिला सशक्तीकरणको संकेत पनि गर्छ । त्यसकारण रातो रङ छानेँ । नेपाली र विदेशी डिजाइन मिश्रण गरेर यो ड्रेस बनाएका हौँ । झट्ट हेर्दा ग्लामर मात्रै देखिन्छ । तर, पहिरनमा नेपालीपन झल्किएको छ ।
ड्रेस डिजाइन गर्ने समय नै थिएन । दुई दिनमा गरेको कामले यति धेरै प्रशंसा पाएकोमा दंग छु । नेदरल्यान्ड्सको एक अनलाइन समाचार संस्थाले कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलेब्रेटीको सूचीमा सुरक्षालाई समेत राखेको छ । यो मेरो जीवनकै कोसेढुंगा ठान्छु । हुन त यसअघि पनि थुप्रै अन्तर्राष्ट्रिय फेसन सोहरूमा मैले तयार पारेका ड्रेस सहभागी भएका छन् । तर, प्रतिष्ठित फिल्म फेस्टिवलका कलाकारका लागि ड्रेस डिजाइन गरेको थिइनँ । यसलाई पहिलो खुड्किलो ठानेको छु । फेसन उद्योगमा मेरो प्रवेश १० वर्षभन्दा बढी भयो । यति धेरै प्रशंसा पाएको थिइनँ ।
विदेशमा बस्ने धेरै नेपाली हाम्रा ग्राहक छन्
नेपाली फेसन डिजाइनरहरूको धेरैजासो ग्राहक विदेश बस्ने नेपाली हुन्छन् । नेपालमा राम्रो आम्दानी भएकोहरू पनि डिजाइनरको कपडा लगाउँछन् । सामान्य मान्छेले डिजाइनरको कपडा लगाउन सक्दैन । डिजाइनरले बनाएका कपडा कम्तीमा पनि २०–२५ हजार रूपैयाँका हुन्छन् ।
हुनत पछिल्लो सयम नेपाली फेसन दुनियाँ विस्तार हुँदै गएको छ । नयाँ पुस्तामा फेसन चेतना बढ्दै गएको छ । विस्तारै नेपाली पहिरनले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाइरहेका छन् । यसले पनि हाम्रो फेसन उद्योग राम्रो हुँदै गएको संकेत गर्छ । तर, यहाँ हाम्रो कपडा उत्पादन गर्ने प्रविधि छैन । यहाँ उत्पादन हुने राम्रो कपडा भनको ढाका हो । ढाकालाई मात्रै कति ठाउँ प्रयोग गर्ने ? नेपाली फेसन डिजाइनरहरू पनि क्षमतावान छन् । विदेशी डिजाइनरभन्दा कम छैनन् । तर सिमित स्रोत साधानले हामीलाई खुम्चाएको छ ।