८ महिनामा थपियो ५२० मेगावाट विद्युत्,४२७ किमि पक्की सडक

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

  • विद्युत्, टेलिफोन र खानेपानीको पहुँच बढ्यो 
  • सवा लाखलाई रोजगारी, २१ हजारलाई तालिम 
  • सार्वजनिक संस्थानको क्षयीकरण तीव्र
  • गत वर्ष नाफा ४५ प्रतिशत र लाभांश ५२ प्रतिशतले घट्यो
  • सार्वजनिक संस्थानमा सेयर र ऋण गरी पाँच खर्ब ६७ अर्ब रुपैयाँ लगानी, तर लाभांश ६ अर्ब ७२ करोड अर्थात् १.१८ प्रतिशत मात्र 

चालू आर्थिक वर्षको आठ महिनामा देशभर चार सय २७ किलोमिटर सडक कालोपत्रे भएको छ भने पाँच सय २० मेगावाट विद्युत् उत्पादन भएको छ । त्यस्तै, ८० वटा पुल, डेढ किमि रेल्वे ट्र्याक बेड, एक सय ५४ सर्किट किमि विद्युत् प्रसारण लाइन र एउटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण, २०७९ का अनुसार तीनै तहका सरकार र निजी स्तरबाट यी पूर्वाधार थपिएका हुन् । 

अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्ममा मुलुकभर २९ वटा अस्पताल थपिएको उल्लेख छ । यसबीचमा अस्पतालसहित ३२ वटा स्वास्थ्य संस्था बढेका छन्, जसबाट चार हजार एक सय ५० शय्या र सात हजार ८० स्वास्थ्य जनशक्ति थपिएको छन् । त्यस्तै, फागुन मसान्तसम्ममा २० वटा तारे होटेल र पर्यटन स्तरका १२ वटा होटेल थपिएका छन् । तारे स्तरमा एक हजार आठ सय ७५ बेड र पर्यटकस्तरीय होटेलमा ६ सय ८७ बेड थप भएका छन् । चालू आवको आठ महिनामा ५९ पुराना खेलग्राम निर्माणलाई निरन्तरता दिँदै थप ९५ खेलग्राम निर्माण सुरु गरिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत १.२ किमि ढल तथा एक सय ६२ किमि सतह नाला निर्माण भएका छन् । 

आर्थिक सर्वेक्षणमा चालू आवको आठ महिनामा एक हजार पाँच सय ५७ किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको उल्लेख छ । यससँगै देशभर बिछ्याइएको अप्टिकल फाइबर १२ हजार एक सय ३९ किमि पुगेको छ । फागुनसम्ममा २५ स्थानीय तहका कार्यालय, एक सय ५० वडा कार्यालय, एक सय २० सामुदायिक विद्यालय र दुई सय २२ स्वास्थ्य केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिएको छ । 

फागुन मसान्तसम्ममा एक लाख ८९ हजार दुई सय ३० फुसका छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण गरिएको छ । यस अवधिमा एक लाख ३७ हजार लाभग्राही छनोट भइसकेका छन् भने एक लाख २६ हजार ६ सय ९८ लाभग्राहीसँग सम्झौता भएको छ । २४ हजार पाँच सय ९७ आवास इकाइको निर्माण सम्पन्न भएको छ । 

विद्युत्, टेलिफोन र खानेपानीको पहुँच बढ्यो 
फागुन ०७८ सम्ममा कुल जडित विद्युत् क्षमता ३० प्रतिशतले बढेर दुई हजार दुई सय पाँच मेगावाट पुगेको छ । गत असारसम्ममा कुल जडित विद्युत् क्षमता एक हजार ६ सय ८५ मेगावाट रहेको थियो । यस अवधिमा विद्युत्मा पहुँच हुने नागरिकको जनसंख्या एक प्रतिशत विन्दुले बढेर ९४ प्रतिशत पुगेको छ । विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख २८ हजार (सामुदायिक संस्थाबाहेक) पुगेको छ । सामुदायिकअन्तर्गत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या करिब पाँच लाख ८० हजार रहेको छ । 

यस अवधिमा आधारभूत खानेपानीको पहुँचमा पुगेको जनसंख्याको दर ०.१४ प्रतिशत बिन्दुले बढेको छ । असारसम्ममा आधारभूत खानेपानीको पहुँचमा पुगेको जनसंख्या ९३.२१ प्रतिशत रहेकोमा फागुन ०७८ मा आइपुग्दा ९३.३५ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्ममा थप ४२ हजार आठ सय ५७ जनसंख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका छन् । विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम/आयोजनाबाट थप ९२ हजार पाँच सय पाँच व्यक्ति खानेपानी तथा सरसफाइ सेवाबाट लाभान्वित भएका छन् । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत चालू आवको फागुन मसान्तसम्ममा थप २५ हजार नौ सय ८९ जनसंंख्या मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । 

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्ममा टेलिफोन घनत्व ९.५६ प्रतिशत विन्दुले बढेर १३९.८६ प्रतिशत पुगेको छ । त्यस्तै, इन्टरनेट ग्राहक घनत्व ३४.११ प्रतिशत बिन्दुले बढेर १३०.३ पुगेको छ । यस अवधिमा ४७ स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भएको छ । 

बिमाको दायरामा आएको जनसंख्या दुई प्रतिशतले बढेको छ । गत असारसम्ममा २७ प्रतिशत जनसंख्या बिमाको दायरमा रहेकोमा फागुन मसान्तमा  आइपुग्दा २९ प्रतिशत पुगेको छ । 

१ लाख १२ हजारलाई रोजगारी, २१ हजारलाई तालिम 
आर्थिक सर्वेक्षणका अनुसार चालू आवको फागुन मसान्तसम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सात लाख आठ हजार दुई सय ८७ सूचीकृत बेराजगारमध्ये ७१ हजार तीन सय २४ जनालाई रोजगारी दिइएको छ । फागुनसम्मा रोजगार संयोजक ६ सय ९९ र प्राविधिक सहायक ६ सय ७३ गरी जम्मा एक हजार तीन सय ७२ जना रोजगार सेवा केन्द्रमा कार्यरत छन् । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित विभिन्न रोजगारलक्षित कार्यक्रमबाट फागुनसम्मा ३० हजार ४८ व्यक्तिले आंशिक रोजगारी र ११ हजार चार सय २० व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । 

सरकारले यस अवधिमा ६ हजार ६ सय ३० जनालाई सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागू भएका १६ जिल्लामा सञ्चालित तालिमबाट १० हजार युवा लाभान्वित भएका छन् । यही अवधिमा थप पाँच हजार व्यक्तिलाई वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता तालिम प्रदान गरिएको छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषअन्तर्गत कर्जा लगानीबाट चालू आवको फागुन मसान्तसम्ममा थप चार हजार आठ सय ३३ जना स्वरोजगार भएको सर्वेक्षणमा उल्लेख छ । आव ०७७/७८ मा पाँच हजार सात सय ६६ जना स्वरोजगार भएका थिए । 

यस्तो छ उपभोग, लगानी र बचतको अवस्था
चालू आर्थिक वर्षमा उपभोगदर ११.५ प्रतिशतले बढेको छ । जुन गएको आवको तुलनामा ३.८ प्रतिशत बिन्दुले बढी हो । उपभोग दर बढे पनि जिडिपीमा उपभोगको अनुपात भने घटेको छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उपभोगको अंश १.६ प्रतिशत बिन्दुले घटेर ९०.७ प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा जिडिपीमा उपभोगको अंश ९२.३ प्रतिशत रहेको थियो । पछिल्लो दशकमा उपभोग र जिडिपीको औसत अनुपात ९०.५ प्रतिशत रहेको छ । 

जिडिपीसँग कुल गार्हस्थ्य बचतको अनुपात ९.३ प्रतिशत रहेको छ । जुन गएको आवको तुलनामा १.६ प्रतिशत बिन्दुले बढी हो । चालू आवमा कुल गार्हस्थ्य उत्पादनसँग कुल राष्ट्रिय बचतको अनुपात ३२ प्रतिशत रहने अनुमान छ । जुन गएको आवको तुलनामा १.३ प्रतिशत बिन्दुले कमी हो । आर्थिक वर्ष ०७५/७६ पछि कोभिडका कारण राष्ट्रिय बचत घट्दो अवस्थामा रहेका मन्त्रालयले जनाएको छ । 

चालू आवमा कुल लगानी १८.१ प्रतिशत वृद्धि भई १८ खर्ब सात अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ । कोभिड संक्रमण घट्दै गई आर्थिक गतिविधि सामान्य हुँदै गएकाले सार्वजनिक एवं निजी क्षेत्रको खर्च बढ्ने अनुमान गरिएको छ । चालू आवमा जिडिपीसँग कुल लगानीको अनुपात ३७.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जुन गत आवको तुलनामा १.५ प्रतिशत बिन्दुले बढी हो । 

चालू आवमा बचत र लगानीको अन्तरमा सीमान्त सामान्य भई २८ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा बचत र लगानीको अन्तर २८.१ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा चालू वर्षमा कुल लगानीभन्दा कुल बचत बढी दरमा वृद्धि भएकाले बचत र लगानीको अन्तरमा केही कम भएको हो । 

सुझावित समाचार