८४ केजीमा सुमनलाई स्वर्ण

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

नेपालका सुमन भोलनले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिवम श्रेष्ठलाई पराजित गर्दै उपाधि जितेका हुन् । भारतका हरि राम र चैतन्य शर्मा संयुक्त रूपमा तेस्रो भए । 

यसअघि प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतियोगिताको पहिलो संस्करण पनि आफैँले उद्घाटन गरेको स्मरण गरे । उनले खेल क्षेत्र मानवीय, सामाजिक र राजनीतिक जीवनमा अत्यन्तै महŒवपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए ।

‘कुनै देशको आर्थिक क्षेत्र विकासको माध्यम पनि खेल क्षेत्र नै हो, राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध निर्माण गर्ने माध्यम पनि खेल नै हो,’ प्रचण्डले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि ऊर्जाशील तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरूलाई रोज्ने गरेका छन् ।’ 

राखेपका सदस्यसचिव टंकलाल घिसिङले तीन सय ६५ दिन नै राष्ट्रिय टिम तयार गरी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको जानकारी दिए । घिसिङले कराते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए ।

उनले १७औँ एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको इतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटानका गरी एक हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजकका प्रमुख गजेन्द्रबहादुर खपांगीले जनाएका छन् । 

See More On

सुझावित समाचार