यौन हिंसामा उजुरीको हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण
यौन हिंसामा उजुरीको हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

सांसदहरू कमला पन्त, विमला राई, प्रमिला पन्त, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखर सिंह, गंगाकुमारी बेलवासे र तुलप्रसाद विश्वकर्माले प्रस्ताव दर्ता गराएका छन् । तस्बिर : रासस

मुलुकमा यौन हिंसा बढिरहेको भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउन संसद्मा छलफल गर्नुपर्ने आवश्यक रहेको भन्दै शुक्रबार प्रस्ताव दर्ता गराइएको हो । 

बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने प्रस्तावमा छ । प्रस्तावमा बालबालिका संरक्षणसम्बन्धी ऐन र मुलुकी अपराध संहिता संशोधन गरिनुपर्ने माग छ ।

‘समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरू बढिरहेको, डर, त्रास, लोभ, लालच वा यस्तै विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा उजुरी दिने हदम्यादको कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएको छ,’ प्रस्तावमा छ, ‘बालबालिका संरक्षणसम्बन्धी ऐन, २०७५ दफा ७४ को उपदफा २ र मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ मा रहेको यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरुरी देखिएको छ । 

राष्ट्रिय सभा सदस्यहरू कमला पन्त, विमला राई पौड्याल, प्रमिलाकुमारी पन्त, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेलवासे र तुलप्रसाद विश्वकर्माले प्रस्ताव दर्ता गराएका हुन् ।
 

सुझावित समाचार