आगलागीबाट ६ घरमा क्षति

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता गाउँँपालिका– ५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शंकर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्ण रूपमा क्षति भएको छ।

आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका– ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए। उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घन्टाको प्रयासमा स्थानीयले नियन्त्रणमा लिएका हुन्।

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए। आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन्।

आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु. २३ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए। रासस

See More On

सुझावित समाचार