कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

दुर्घटनामा परेर ३९ जना घाइते, रातभर घाइतेको उद्धार

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म.१ख ६६० नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस– २ को सिस्नेमा बुधबार राति दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । 

दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

मृत्यु हुनेहरूमा दैलेखको दुल्लु नगरपालिका- २ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलाता गाउँपालिका- ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । 

रातभर घाइतेको उद्धार

दुर्घटनामा परेर ३९ जना घाइते भएका छन् । घाइतेलाई रातभर उद्धार गरी थप उपचारका लागि सुर्खेत कालागाउँ अस्पतालमा लगिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । घाइते हुनेमा बालबालिकासमेत छन् । 

घटनालगत्तै दैलेखको आठबिस नगरपालिका दैलेखका पूर्वनगरप्रमुख खड्गराज उपाध्याय, राकमको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धारको काम सुरु गरिएको थियो । दुर्घटनामा परेर घाइते भएकाको उद्धार गरी सुर्खेत अस्पतालमा भर्ना गरिएको छ । 

बस सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको तीरमा खसेको छ । बसमा ५० भन्दा बढी यात्रु रहेको र  तीव्र गतिका कारण  दुर्घटना  भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 
 

सुझावित समाचार