बुटवलमा सुकुमबासीलाई बसोवास प्रमाणित निस्सा बाँड्ने मेयरको निर्णय

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले अव्यवस्थित क्षेत्रमा बसोवास गरेकाहरूलाई लगत संकलनका आधारमा बसोवास प्रमाणित निस्सा उपलब्ध गराउने निर्णयलाई सदर गरेका छन् । 

सोमबार पदभार ग्रहण गर्दै उनले सुकुमबासी तथा अव्यवस्थित बसोवासीका पक्षमा त्यस्तो निर्णय गरेका हुन् । ‘भूमिहीन, सुकुमबासीको समस्या हल गर्न अल्पकालीन उपायका रूपमा तथ्यांक संकलन गर्ने र नगर परिषदबाट निर्णय गरी बसोवासका आधारमा थोरै शुल्क लिएर बसोवासको प्रमाणपत्र दिनेछौँ,’ पदभार ग्रहणपछि उनले भने । 

यसबाट वडाबाटै नामसारीको काम हुने र कसैले पनि त्यहाँ बसोवास गर्नेलाई दुःख दिन नपाउने अवस्था सिर्जना हुने उनले बताए । पाण्डेयले भने, ‘दीर्घकालीन रूपमा जग्गाधनी प्रमाणपत्र वितरणका लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गर्नेछौँ ।’ 

पाण्डेयले बुटवलको मुख्य सडकखण्ड चौराहा–गोलपार्क सडक, तिनाउ–दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।

पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिबद्धता जनाए । ०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार पाँच सय ३१ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

बुटवलमा उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छिन् । १९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले पाँच तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडामा विजय प्राप्त गरेका  छन् ।
 

See More On

सुझावित समाचार