त्रियुगा– १२ मा पुन: मतदान कि मतगणना गर्ने भन्ने विवाद कायमै

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको विवाद नटुंगिँदा पुनः मतदान कि मतगणना भन्ने विषय नै अन्योलमा परेको छ । निर्वाचन आयोगले दुईमध्ये एकमा पुनः मतदान कि मतगणना सुरु गर्ने भन्ने विषयमा निर्णय नलिँदा अन्योल देखिएको हो ।

उदयपुरका आठमध्ये ६ स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । कटारी नगरपालिकामा मतगणना जारी छ । तर, त्रियुगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन । त्रियुगामा निर्वाचनका लागि सहभागी भएका दल तथा उम्मेदवारहरू पनि दुई समूहमा विभाजित भएका छन् । एक समूह पुनः मतदान गराउनुपर्ने र अर्को खसेको मतलाई आधार मानेर मतगणना सुरु हुनुपर्ने पक्षमा छ । 

पुनः मतदानको पक्षमा रहेका प्रदेश सभा सदस्य सुनीताकुमारी चौधरीलगायत दशजनाको समूहले मतदानको दिन मतदान गर्न नपाएको भन्दै उच्च अदालत विराटनगरमा पुनः मतदानको माग गर्दै रिट दायर गरेका छन् । त्रियुगा नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्कीले केही दिनअघि नै मतदान गराउने भए छिटो गराउन र मतगणना सुरु गर्ने भए छिटो गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । 

त्रियुगा नगरपालिका–१२ को मतदान विवादसम्बन्धी मुद्दा लम्बिने भएको छ । प्रदेश सांसद सुनीता चौधरीसहित त्रियुगा नगरपालिका–१२ का स्थानीयले पुनः मतदान गरिपाऊँ भनी दिएको रिटमा उच्च अदालतले सोमबार पनि अन्तरिम आदेश दिएन । उक्त मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ । दुवै रिटमा सोमबार उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश र अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाको इजलासले अन्तरिम आदेश दिने नदिने विषयमा छलफलमा झिकाउने आदेश दिएको हो । ६ जेठमा दायर रिटमा आफ्नो मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित भएकाले पुनः मतदान गराइपाऊँ भनी माग गरिएको छ ।

सुझावित समाचार