एन्फा पूर्वअध्यक्ष शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

 

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु भएको छ । शेर्पाले आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । 

आफूले खेलकुद क्षेत्रको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको शेर्पाले घोषणा गरेका छन् । ‘लगातार नेपाली खेलकुदको विकासमा योगदान दिँदै आएको छु । अब, खेलकुदको तर्फबाट नेपाली कांग्रेसलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको हो,’ शेर्पाले भने, ‘हामीकहाँ डेलिभरी दिने परम्परा निकै कम छ । पोलिटिकल डेलिभरी गर्न भए पनि मेरो उम्मेदवारी हुन्छ । आर्थिक विकासलाई टेवा दिन र खेलकुद क्षेत्रलाई सुदृढ बनाउन योगदान गर्नेछु ।’

शेर्पा ०४४ सालदेखि नै नेविसंघको केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य र पटक–पटक महाधिवेशन प्रतिनिधि भएका थिए ।  यसअघि शेर्पा महाधिवेशन प्रतिनिधिमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्विरोध निर्वाचित भएका थिए । जुन क्षेत्र सभापति गगन थापाको क्षेत्र हो । 

यता, खेलकुद क्षेत्रमा शेर्पा चार वर्ष एन्फा अध्यक्ष भइसकेका छन् । उनले आफ्नो कार्यकालमा कोरोनोका समयमा पनि चार वर्षमा तीनपटक सहिद स्मारक डिभिजन लिग आयोजना गर्न सफल भएका थिए । यस्तै, महत्त्वकांक्षी नेपाल सुपर लिग (एनएसएल) सुरु गरेका थिए । शेर्पा अहिले सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन् ।

सुझावित समाचार