आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने सिद्धार्थनगरका मेयरको घोषणा

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको सिदार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खांनले स्वच्छ, सफा र सुन्दर नगरको लागि आफूले निर्वाचनमा पाएको मत बराबर वृक्षारोपण गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित शपथग्रहण समारोहमा नव निर्वाचित मेयर खानले आफूले पाएको ९ हजार १ सय ३४ मत बराबर वृक्षारोपण गर्ने घोषणा गरेका हुन् । स्वच्छ, सफा र सुन्दर सहर आफ्नो परिकल्पना रहेको बताउँदै त्यस अभियान वृक्षारोपणबाट सुरु हुने उनले बताए । 

स्थानीय तह निर्वाचन ०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालयले शुक्रबार पद तथा गोपनीयताको शपथ कार्यक्रम आयोजना गरेको थियो । निर्वाचित जनप्रतिनिधिहरूले सोमबार मात्र कार्यभार सम्हाल्ने उपमेयर उमा अधिकारीले बताइन् । सिद्धार्थनगरका निर्वाचित नगरप्रमुख इस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश धनसिंह महराले शपथग्रहण गराएका थिए । नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरूलाई शपथग्रहण गराएका थिए । सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका इस्तियाक अहमद खान नगरप्रमुखमा निर्वाचित भएका हुन् ।  उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी छिन् ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपायाँ व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवनलगायतको कामलाई प्राथमिकता दिँदै महिला, विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए । उनले आफूले पाएको मत बराबर वृक्षारोपण  गर्ने प्रतिबद्धता जनाउँदै भएका वृक्षहरूको संंरक्षण र संवर्धन पनि नगरपालिका पछि नपर्ने बताए ।
 

सुझावित समाचार