सिके राउत नेतृत्वको जनमत पार्टीले जित्यो एक नगरपालिका

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण
सिके राउत नेतृत्वको जनमत पार्टीले जित्यो एक नगरपालिका

वीरेन्द्रकुमार माझी, प्रमुख हनुमाननगर कंकालिनी नगरपालिका

तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय निर्वाचनमा पहिलोपटक एक नगरपालिकामा जित निकालेको छ । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले स्थानीय निर्वाचनमा सफलता प्राप्त गरेको हो । २४ फागुन ०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो । त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ । 

जनमत पार्टीका वीरेन्द्रकुमार माझी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवारलाई पराजित गरे । माझीले ६ हजार चार सय सात मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका निवर्तमान नगर प्रमुख शैलेशकुमार साहले ६ हजार दुई सय ४६ मत प्राप्त गरे । प्रतिस्पर्धामा तेस्रो भएको माओवादी केन्द्रका उम्मेदवार राहुलकुमार मण्डलले तीन हजार आठ सय ७३ मत ल्याए । 

मेयरमा पराजित साह सप्तरी १(ख) का प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । निवर्तमान मेयर साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए । 

जसपाकी सरिता सिपलिया यादव ६ हजार पाँच सय १२ मत प्राप्त गरी दोस्रोपटक उपप्रमुखमा विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार नौ सय ८२ मत प्राप्त गरिन् ।

राउतको घर भएको वडामा जनमत पार्टी विजयी
सीके राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ । वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार जागेश्वरप्रसाद ईस नौ सय ६६ मत ल्याउँदै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमरलाल मण्डलले ६ सय नौ मत प्राप्त गरे ।

सप्तरीका अन्य तीन पालिकाको नतिजा सार्वजनिक
सप्तरीका चार पालिकामा मतगणना सम्पन्न भएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिका, सप्तकोसी नगरपालिका, तिरुहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको मतगणना सम्पन्न भएको हो । सप्तरीका १८ मध्ये चार पालिकाको सम्पन्न मतपरिणामअनुसार सप्तकोसी नगरपालिका र तिरुहुत गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा एमाले विजयी भएको छ ।

सप्तकोसी नगरपालिकामा कांग्रेसका कृष्णप्रसाद ढकाल चार हजार चार सय ६९ मत प्राप्त गरी प्रमुखमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्माले दुई हजार नौ सय ६७ मत प्राप्त गरे । कांग्रेसकी रिताकुमारी चौधरी तीन हजार नौ सय ५८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी चौधरीले तीन हजार दुई सय मत ल्याइन् ।

तिरुहुत गाउँपालिकामा कांग्रेसका विजयकुमार यादव तीन हजार पाँच सय ५६ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहडखेरले दुई हजार नौ सय १८ मत प्राप्त गरे ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकामा एमालेका दिनानाथ चौधरी चार हजार आठ सय ७४ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले तीन हजार आठ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरी चार हजार दुई सय १६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शैलेन्द्रीदेवी लेखी थरुनीले तीन हजार चार सय ४९ मत ल्याइन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार