साइकलमै ३८७ किमि यात्रा गर्दै अभिनेता जोशी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमि) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । धुलिखेलमा रहेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउन लन्डन टु पेरिस यात्रा गर्न लागेका हुन् । 

उनलाई ६ जना नेपाली साथीले साथ दिँदै छन् । उनले आगामी शुक्रबार अर्थात् २० मेदेखि यात्रा गर्न लागेका हुन् । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनिल कार्की र लक्ष्मण गुरुङ छन् । उनीहरूले शुक्रबार लन्डनको लन्डन ब्रिजबाट यात्रा सुरु गरेर तीन दिनमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् । ‘म्यानुअल साइकल (पाइडल घुमाउँदै)मार्फत लन्डनबाट पेरिस पुग्ने प्लान छ,’ अभिनेता जोशीले भने, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद हुन्छ ।’ उनका साथीहरूले यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाएको बताए । जोशीले यस यात्राका लागि करिब तीन सातादेखि दैनिक चार–पाँच घन्टा साइकल कुदाइरहेको बताए । 

उलबीच अर्सेनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट कम्तीमा पाँच हजार पाउन्ड (करिब पौने आठ लाख) संकलन गर्ने लक्ष्य लिएको उनले बताए । यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब तीन हजार पाउन्ड सहयोग गरिसकेका छन् । अनाथ बालबालिकाका लागि बिश्वभरबाट माया, साथ, सहयोग र हौसला दिन उनले अनुरोध पनि गरेका छन् । अभिनेता जोशीले ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्ममा अभिनय गरेका छन् । 

सुझावित समाचार