खसेको मत र गणना भएको मतमा फकर आएपछि झापाको शिवसताक्षीमा विवाद उत्पन्न भएको छ । विवादका कारण आइतबार रातिबाटै शिवसताक्षीमा मतगणना स्थगित भएको छ । वडा नम्बर–१ को मतगणना गर्दा ५४ मतपत्र हराएको भन्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार दुर्गा नेम्वाङले आपत्ति जनाएका थिए । यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ ।
उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ । तर, मतगणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटिएको थियो । मतगणना नै प्रभावित भएपछि त्यहाँका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ‘त्यहाँ निर्वाचन अधिकृत फेर्ने तयारी भइरहेको छ । फेर्ने काम आयोगले गर्ने हो,’ उनले भने, ‘निर्वाचन अधिकृत फेरेर गणना सुरु गर्ने गरी छलफल भइरहेको छ ।’
यस्तै, रातिबाट गौरीगन्ज गाउँपालिकाको पनि गणना रोकिएको छ । गौरीगन्जमा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि समस्या भएको हो । त्यहाँ भने सर्वदलीय बैठकको तयारी भइरहेको नेपालले बताए । ‘निर्वाचन अधिकृतको नियतले यस्तो भएको हुँदैन । मतदान अधिकृतको कमजोरी हुन सक्छ,’ उनले भने, ‘मतदान अधिकृतलाई बोलाएर सोध्छौँ ।’