मकवानपुर : चार केन्द्रको जिम्मा महिला टोलीलाई
मकवानपुरका चार मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । मकवानपुरका तीन सय ५६ मतदान केन्द्रमध्ये चारवटा केन्द्रमा महिला कर्मचारी मात्र खटिएका हुन् ।
हेटौँडा उपमहानगरपालिका– २ स्थित सिद्धार्थ मावि मतदान केन्द्र (घ)मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा केन्द्र सञ्चालन हुँदै छ । यस केन्दैमा चार महिला कर्मचारी खटिएका छन् । हेटौँडा–१२ स्थित महेन्द्र मावि मतदान केन्द्र (घ)मा शान्तिमाया मोक्तानको नेतृत्वमा पाँच कर्मचारी खटिएका छन् । हेटौँडा–९ स्थित प्रगति मावि मतदान केन्द्र (ङ)मा शारदाकुमारी मैनालीको नेतृत्वमा पाँच र हेटौँडा–१० स्थित टिसिएन भवन मतदान केन्द्र (ग)मा मतदान अधिकृत सुनिता सुवेदीको नेतृत्वमा चार महिला कर्मचारी खटिएका छन् ।
सिद्धार्थ मतदान केन्द्र (घ)की मतदान अधिकृत लामिछानेले आफूसहित सबै महिला कर्मचारी खटिए पनि कुनै समस्या नभएको बताइन् । उनले मतदान केन्द्र बजार क्षेत्रमै रहेको र सुरक्षाका दृष्टिकोणले कुनै समस्या नभएकाले महिला मात्र भए पनि आपूmहरूले ढुक्क भएर निर्वाचन गराउने प्रतिक्रिया दिइन् । ‘महिला हुँदा कुनै समस्या छैन, सबै मिलेर काम गर्न अझ सहज हुनेछ,’ उनले भनिन् ।
टिसिएन भवन मतदान केन्द्र (ग)की मतदान अधिकृत सुवेदीको धारणा पनि उस्तै छ । उनले पनि महिला मात्र मिलेर काम गर्न सहज हुने र कुनै समस्या नहुने बताइन् । ‘हामी सबै महिला कर्मचारी मिलेर स्वच्छ, निष्पक्ष र सुरक्षित तवरबाट हाम्रो मतदान केन्द्रमा निर्वाचन गर्नेछौँ । कुनै समस्या भएको छैन,’ सुवेदीले नयाँ पत्रिकासँग भनिन् ।
१० स्थानीय तह रहेको मकवानपुरमा १ उपमहानगर, १ नगरपालिकासहित ८ गाउँपालिका छन् । यहाँ दुई लाख ९४ हजार नौ सय २९ मतदाता छन् । हेटौँडा उपमहानगरमा एक लाख चार हजार चार सय ७३, थाहा नगरपालिकामा ३२ हजार तीन सय सात, बागमती गाउँपालिकामा १२ हजार तीन सय २८, इन्द्रसरोवरमा १२ हजार चार सय ७१ मतदाता छन् । कैलाश गाउँपालिकाम १४ हजार पाँच सय ८६, बकैयामा २९ हजार नौ सय ४३, भीमफेदीमा १७ हजार चार सय २८, मकवानपुरगढीमा १९ हजार एक सय १८, मनहरीमा २६ हजार सात सय २१ र राक्सिराङ गाउँपालिकामा १५ हजार आठ सय ३२ मतदाता छन् । जिल्लामा एक सय ६५ र मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील मतदान केन्द्र रहेको छ ।
उदयपुर : २५८ मध्ये चार केन्द्रमा महिला
उदयपुरका दुई सय ५८ वटा मतदान केन्द्रमध्ये चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुईवटा मतदान केन्द्र गरी चारवटा मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउने भएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चारवटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने बताए । ‘उदयपुरमा जम्मा ९८ वटा मतदानस्थलमा दुई सय ५८ वटा मतदान केन्द्र रहेका छन् । जसमा चारवटामा सुरक्षाकर्मी, कर्मचारी सबै महिला मात्र खटाइएको छ,’ उनले भने । कोइरालाका अनुसार उदयपुरगढी गाउँपालिका– ५ को पञ्चावती माध्यमिक विद्यालयमा ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र छन् । जसमा ‘क’ मा मतदान अधिकृतको रूपमा डोलीकुमारी धमला र ‘ख’ रत्नकुमारी राईले नेतृत्व गरेका छन् ।
त्रियुगा नगरपालिका– ९ को रातमाटा आधारभूत विद्यालयमा रहेको दुईवटा मतदान केन्द्रमा पनि महिला मात्र खटिएका छन् । ‘क’ मतदान केन्द्रमा सुनिता प्रधान र ‘ख’ रमुना राउत मतदान अधिकृतको रूपमा खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका दुई ५८ वटा मतदान केन्द्रमध्ये चारवटामा नमुनाका लागि कर्मचारी, सुरक्षाकर्मी सबै महिला मात्र खटाइएको निर्वाचन अधिकारी कोइरालाको भनाइ छ । उनका अनुसार जिल्लामा एक हजार दुई सय कर्मचारी खटिएका छन् । कोइरालाले दुई सय ५८ वटै मतदान केन्द्रमा सम्पूर्ण तयारी सकिएको जानकारी दिए । उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन् ।
हुम्ला : हुम्लामा समेत महिला टोली
हुम्लाको सिमकोट गाउँपालिका– १ को कालसिम्ता मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा निर्वाचन हुँदै छ । सो मतदान केन्दमा निर्वाचन अधिकृतदेखि अन्य सबै कर्मचारी महिला खटिएका छन् । ६ सय ३२ मतदाता रहेको मतदान केन्द्रमा प्रतिमा पनेरू मतदान अधिकृत छिन् । केन्द्रको सहायक मतदान अधिकृत इन्दा खराल, सहायक कर्मचारी शारदा रोकाया, उषा भण्डारी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख मुक्तिनन्द रावलले जानकारी दिए । सो मतदान केन्द्रबाट हुने निर्वाचनको क्रममा वडाध्यक्षमा गोर्ख लामा निर्विरोध निर्वाचित भइसकेका छन् । सो केन्द्रमा गाउँपालिका प्रमुख, उपप्रमुख र वडासदस्यका लागि शुक्रबार मतदान हुँदै छ ।
रुकुम पश्चिम : पाँच महिलाले मतदान गराउँदै
रुकुम पश्चिममा एउटा मतदान केन्द्र महिलाले मात्र सञ्चालन गर्दै छन् । मुसिकोट नगरपालिका– ५ मा रहेको यमुनानन्द नमुना मावि मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिइन् ।
मतदान केन्द्रको मतदान अधिकृतमा भावना शाह छिन् । सहायक मतदान अधिकृतमा सुमित्रा केसी पुन, सहायक कर्मचारीमा विमला बुढामगर र जुना शाह केसी तथा कार्यालय सहयोगीका रूपमा मनीषा केसी खटिएकी छिन् । जिल्लाका कुल एक सय ३९ मतदान केन्द्रमध्येमा एउटा केन्द्र मात्र महिलाहरूले सञ्चालन गर्न लागेका हुन् । यसबाहेक धेरै मतदान केन्द्रको नेतृत्व महिलाले गरे पनि पूरै टिम महिला खटिएको यो केन्द्र मात्र हो ।
दार्चुला : एक केन्द्रमा महिलाको नेतृत्व
दार्चुलाको एक मतदान केन्द्र महिलाले सञ्चालन गर्दै छन् । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर– ५ को (क) केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत महिला खटिएका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सहायक संरक्षण अधिकृत रीति आचार्य र सहायक मतदान अधिकृतमा गीता भट्ट छन् । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रमा एक हजार ६९३ जना मतदाता छन् ।
कास्की : ३३६ मध्ये एक केन्द्र नेतृत्व गर्दैै महिला
पाँच पालिका रहेको कास्कीमा एक सय ५० मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् । ती केन्द्रमा मतदान सम्पन्न गराउन कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर– ६ स्थित अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्द्रमा भने सबै महिला कर्मचारी छन् । त्यहाँ एक हजार ४३ जना मतदाता छन् ।
जिल्ला अदालत कास्कीमा कार्यरत शाखा अधिकृत सविता ढुंगानाको नेतृत्वमा कर्मचारीदेखि सहयोगी र स्वयंसेवक सबै महिला मात्र खटेका छन् । सहायक मतदान अधिकृतको रूपमा प्रदेश निर्वाचन कार्यालयका नासु शर्मिला रानाभाट छिन् । केन्द्रमा खटिएका सहायक कर्मचारीहरूमा कास्की जिल्ला अदालतकी डिट्ठा कविता खनाल र पोखरा महानगरपालिकामा कार्यरत सहायक चौथौ प्रतिभा गौतम रहेका छन् । जिल्ला अदालतकी मनमाया कुमाल सहयोगी रूपमा रहेकी छिन् । त्यसैगरी, विद्यालयका शिक्षिकाद्वय अञ्जु गुरुङ र अनिता दलार्मीसँगै सामना सुवेदी गरी तीनजना स्वयंसेवकसमेत महिला रहेका छन् ।
हेटौँडाबाट सुदीप सिवाकोटी, उदयपुरबाट विदुर कटुवाल, रुकुम पश्चिमबाट मनीष खड्का, दार्चुलाबाट नरेन्द्रसिंह कार्की, कास्कीबाट रोहितराज पराजुली