देशभरका ७५३ स्थानीय तहमा ३५,२२१ पदका लागि एक लाख ४५ हजार ११ उम्मेदवार
देशभरका सात सय ५२ स्थानीय सरकारको नेतृत्व छान्न शुक्रबार बिहान ७ बजेबाट उल्लासमय रुपमा मतदान सुरू भएकाे छ । मतदानको लागि मतदाताहरु लाइनमा बसेर पालो कुरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपप्रमुखको उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भने ३ जेठका लागि निर्वाचन सारिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र तय भएका छन् । देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि एक लाख नौ हजार ८८ कर्मचारी परिचालन भएका छन् । यसबाहेक ६५ हजार आठ सय ६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक पनि खटिएका छन् । मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले नागरिकता, राहदानीजस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिक मतदाताको सूचीमा रहेको आयोगको भनाइ छ ।

सरकारले गत २४ माघमा सात सय ५३ वटै स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकैचरणमा गर्ने गरी निर्वाचन मिति घोषणा गरेको थियो । देशभर ८९ हजार तीन सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला गरी कुल एक लाख ४५ हजार ११ जनाको विभिन्न पदमा उम्मेदवारी परेको छ । जम्मा ३५ हजार दुई सय २१ पदमध्ये तीन सय ९० पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनमा भाग लिन आयोगमा ७९ दल दर्ता भएका थिए । जसमध्ये ६५ दल निर्वाचनमा सहभागी भएका छन् । १४ दलले भने कुनै पनि उम्मेदवार उठाएका छैनन् । आयोगले निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छापेको छ । २५ चैतदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरेको थियो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको थियो ।


