बैंकिङ कसुर मुद्दाकी एकजना फरार प्रतिवादी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र काठमाडौं प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका– ४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई विशेष सूचनाको आधारमा २४ गते काठमाडौं बालाजुबाट पक्राउ गरिएको हो।
पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो। तर, गुरुङले जरिवानाबापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवानासमेतलाई कैदमा निर्धारण गरिएको छ। उनलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतले कारागार चलान गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए।