स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी रस्साकस्सी सुरु भएको छ। पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह रहेको संखुवासभाको मकालु गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ।
मकालुमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ओङ्दी शेर्पा अध्यक्षको उम्मेदवार छन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी मनकला राई उम्मेदवार रहेकी छिन्। यता, एमालेले अध्यक्षमा भरतकुमार कटुवाल र उपाध्यक्षमा चमेली राईलाई अघि सारेको छ। मकालुमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।
कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरी पालिका प्रमुख र उपप्रमुख बाँडेको छन्। केन्द्रीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले मकालुमा एक्लै उम्मेदवारी दिएको छ। वडास्तरदेखि पालिकासम्म एक्लै चुनाव लड्ने गरी जसपाले उम्मेदवार उठाएको छ। पालिका प्रमुखमा जसपाबाट नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्।
०७४ सालमा मकालु गाउँपालिका– १ बाट अध्यक्षमा निर्वाचित भएका ओङ्दी शेर्पा कांग्रेसको पालिका सभापतिसमेत हुन्। टिकट वितरणमा असुन्तष्टि जनाउँदै कांग्रेसका पुराना कार्यकर्ता बालकुमार राईले पालिका अध्यक्ष र दिपेश गुरुङले उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन्। बागीले केही मत काट्ने भएकाले शेर्पामाथि चुनौती थपिएको छ। ०७४ सालको निर्वाचनमा पनि बागी उम्मेदवारकै कारण कांग्रेस पराजित भएको थियो।
एमालेका उम्मेदवार भरत कटवाल ०७४ मा निर्वाचित पालिका अध्यक्ष खड्ग कटवालका सहोदर भाइ हुन्। खड्गको बरुण मेला जाने क्रममा गाडी भिरबाट खसेर मृत्यु भएको थियो। त्यसैले पनि भरतलाई सहानुभूतिको मत आउने आकलन गरिएको छ। उपाध्यक्ष चमेली राई पुनः दोहोरिएकी हुन्। उपनिर्वाचनमा एमालेका उम्मेदवार तेजबहादुर पोख्रेल एक हजार सात सय १२ मतसहित विजयी भएका थिए। कांग्रेसका उम्मेदवार विमन पराजुलीले सात सय ५७ कम मतका कारण हार व्यहोरेका थिए। कांग्रेसले नाै सय ५५ मत प्राप्त गर्दा माओवादीले आठ सय ३४ मत ल्याएको थियो। सो परिणामलाई हेर्दा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनसँग एक हजार सात सय ८९ मत छ भने एमालेसँग एक हजार सात सय १२ मत छ। यसरी हेर्दा ७७ मतले मात्र गठबन्धन अगाडि देखिन्छ।
कांग्रेसमा बागीको डर भएजस्तै एमालेमा वर्तमान पालिका अध्यक्ष तेजबहादुर पोख्रेलले पार्टीबाट राजीनामा दिनुलाई चुनौतीका रूपमा लिएको छ। अहिले मकालुमा नाै हजार नाै सय ३८ मतदाता रहेका छन्। नयाँ थपिएको मतदाता र संगठन विस्तारले नयाँ आयाम दिने स्थानीयहरू बताउँछन्।