नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहले महासचिव नेत्रविक्रम चन्द विप्लवलाई कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ।
चितवनमा जारी हेमन्तप्रकाश वली, धर्मेन्द्र बास्तोला समूहको भेलाले विप्लवलाई महासचिवबाट हटाउने निर्णय गरेको हो। भेलाले प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मलाई पनि हटाएको छ। असन्तुष्टको भेलाले पार्टीको केन्द्रीय संयोजकमा धर्मेन्द्र बास्तोलालाई तोकेको छ।
नेकपामा स्थानीय तह निर्वाचनको विषयमा विवाद थियो। महासचिव विप्लव पक्षका नेताहरू स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि बास्तोलाले विज्ञप्ति जारी गर्दै उनीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए।
यता वैशाख १४ गते विप्लवले वली र बास्तोला पार्टी अनुशासनभन्दा बाहिर गएको भन्दै पदमुक्त गरेका थिए।
‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीको अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकाले पार्टी विधानअनुसार दुवैजनलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।
कपिलवस्तुको शिवनगरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने निर्णय गरेको थियो। नेकपाले देशभक्त, जनवादी, एमसिसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गरेको थियो।
२१ फागुन ०७७ मा तत्कालीन केपी ओली सरकारसँग तीनबुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो।