निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमलाई आग्रह

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्णपालना गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्यचाहिँ त्यसविपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूको गम्भीर ध्यानाकर्षण गराए। 

सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरू निर्वाचन आचारसंहिताविपरीतका भए त्यसले आममतदाताहरूमा  नकारात्मक असर पर्नेतर्फ पनि सञ्चारमाध्यमहरूलाई सचेत गराए। 

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिबद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्कसमेत गरे।

कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रूपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत नगर्न सचेत गराइएको छ।
 

सुझावित समाचार