केशव स्थापितको गुनासो– महिलामैत्री हुँ, तर महिलामाथि अनुचित सम्बन्ध राखेको छैन

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे ।

मंगलबार काठमाडौं महानगरपालिका– १० मा आयोजित चुनावी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैत्री भएकाले उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क गरे । तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको  जिकिर थियो ।

मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरूले रेस्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाए पनि महिला कर्मचारीहरूले त्यसो नगरेकाले उनीहरूमाथि आफूले सधैँ सम्मान गर्ने गरेको उनले  पटकपटक दोहोर्याए ।  स्थापितले आफूले महिलाहरूको सधैँ सम्मान गर्ने, तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहोर्याए।

स्थापितले आफू महिला हिंसाविरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको  बताए । उनले  आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए । 

सुझावित समाचार