खेलाडीले एन्फालाई दिए बन्द प्रशिक्षण छाड्नुको जवाफ

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि बन्द प्रशिक्षण छाडेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लिखित जवाफ बुझाएका छन् । खेलाडीहरूका तर्फबाट सोमबार रोहित चन्दले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लिखित जवाफ पत्र बुझाएका हुुन् ।

एन्फा खेलाडी संघका अध्यक्ष विक्रम लामाले सोमबार नै विवादको छानबिन गर्न माग राखेका छन् । उनले एन्फा महासचिव तुलाधरसमक्ष छानबिनको मागपत्र बुझाएका हुन् । रोहितसहित सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, अनन्त तामाङ र दिनेश राजवंशीले बन्द प्रशिक्षण छाडेका थिए । 

‘हामी १० खेलाडी एसियन कपको तयारीमा रहेको राष्ट्रिय टोलीको प्रशिक्षणबाट भागेर बाहिरिएको भनिएको छ, यसबाट हामी दुःखी भएका छौँ,’ चन्दले बुझाएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय टोलीबाट खेल्नु हाम्रो सपना हो, विभिन्न आरोह–अवरोहबीच हामी निरन्तर राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्दै आएका छौँ ।’ 

१० खेलाडीले गरेको हस्ताक्षर पत्रमा प्रशिक्षक अलमुताइरीले बारम्बार टोली छाड्न निर्देशन दिएको र उनकै निर्देशनअनुसार बन्द प्रशिक्षण छाडेको दाबी छ । ‘प्रशिक्षणका वेला टोलीको कार्यवाहक नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षकसँग जायज माग राख्दा उनीमाथि भएको व्यवहारप्रति हाम्रो असन्तुष्टि हो,’ पत्रमा भनिएको छ, ‘त्यसबारे कुरा गर्न जाँदा हामीलाई क्याम्प छाड्न भनियो ।’ खेलाडी संघले बुझाएको पत्रमा राष्ट्रिय टोलीका व्यवस्थापनले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा असर परेको उल्लेख छ । 

‘खेलाडीले सधैँ राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकतामा राखेका छन्, राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीले व्यवस्थापनसँग पटक–पटक कुरा राख्दासमेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौँ,’ खेलाडी संघका अध्यक्ष लामाले बुझाएको पत्रमा भनिएको छ, ‘खेलाडीमाथि सार्वजनिक रूपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने व्यक्तिहरू खेलाडी मात्र नभएर समग्र फुटबल विकासका बाधक हुन् ।’ 

See More On

सुझावित समाचार