महानगरहरूको चुनाव परिचालनमा एमालेले खटायो केन्द्रीय पदाधिकारी

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिसहित एमालेले केन्द्रीय पदाधिकारीलाई महानगरहरूको चुनावी कमान्डरका रूपमा खटाएको छ । एमाले राप्रपा नेपाल, लोसपा र परिवार दलसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ । भरतपुरमा राप्रपासँग पनि गठबन्धन गरेको छ ।

सत्तागठबन्धनले चुनावी तालमेल गरेर निर्वाचनमा होमिएपछि दबाबमा आएको एमालेले महानगरपालिकाहरूको चुनावी परिचालन प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीलाई संयोजनको जिम्मेवारी दिएको हो । निर्वाचनमा नेता–कार्यकर्ताको प्रभावकारी परिचालनका लागि विभिन्न महानगरमा पदाधिकारी संयोजनमा खटिएका छन् । समग्र चुनावी परिचालन अध्यक्ष केपी ओली आफैँले हेरेका छन् । 

विष्णु रिमाल उपमहासचिव, एमाले
अध्यक्ष कमरेडलाई आवश्यकताअनुसार महानगरहरूको चुनाव परिचालनबारे नियमित ब्रिफिङ भइरहेको छ

एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकमार्फत पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको मनोनयनलगत्तै आफ्नै जिल्लामा खटिने निर्णय गरेको थियो । एमालेले काठमाडौंसहित ६ वटै महानगरको निर्वाचन परिचालन निर्देशक समिति सक्रिय पारेको छ । 

अध्यक्ष ओलीको निर्देशनअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजक बनेका छन् । त्यसअनुसार नै पोखरेलले काठमाडौं महानगर निर्वाचन परिचालनको कमान्ड सम्हालेका हुन् । उनी काठमाडौं ५ बाट निर्वाचित संघीय सांसदसमेत हुन् । 

त्यस्तै, ललितपुर महानगरको निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशनअनुसार उपमहासचिव प्रदीप ज्ञवाली संयोजनमा खटिएका छन् । उनी ललितपुर महानगरको चुनावी परिचालनसम्बन्धी बैठकमा तीनपटक सहभागी भइसकेका छन् । 

भरतपुरमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावी अनुगमनको नेतृत्व गरिरहेका छन् । निर्वाचन परिचालनको नेतृत्व भने स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले पाएका छन् । भरतपुरमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको छ । 

पोखरा महानगरपालिकाको चुनावी परिचालनको संयोजन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले गरिरहेकी छिन् । उता, विराटगर महानगरमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य लालबाबु पण्डितले अनौपचारिक रूपमा निर्वाचन परिचालनको अनुगमन र संयोजन गरिरहेका छन् ।

वीरगन्ज महानगरको चुनावी परिचालनको अनुगमन मधेस प्रदेशको चुनावी परिचालनका लागि सचिवालयबाट संयोजक तोकिएका सचिव रघुवीर महासेठ र स्थायी समिति सदस्य तथा सहसंयोजक प्रभु साहले गरिरहेका छन् । वीरगन्जमा एमालेले मेयर र लोसपाले उपमेयर लिएर चुनावी तालमेल गरेका छन् । 

उपमहासचिव विष्णु रिमालले पार्टी केन्द्रीय कार्यालयबाट निर्वाचन आयोगसहित देशैभर पार्टीको निर्वाचनसम्बन्धी कामको रिपोर्टिङ लिनेलगायतका कामको नेतृत्व गरिरहेका छन् । ६ वटै महानगरको चुनावी परिचालनको ब्रिफिङ आवश्यकताअनुसार नियमितजस्तै पदाधिकारी तहका नेता र प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले पार्टी अध्यक्ष ओलीलाई गरिरहेको उनले बताए । ‘अध्यक्ष कमरेडलाई आवश्यकताअनुसार महानगरहरूको चुनावी परिचालनको नियमित ब्रिफिङ भइरहेको छ,’ रिमालले भने । 

एमालेले स्थानीय निर्वाचनमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरालाई जितको पहिलो सूचीमा राखेको छ । त्यस्तै, वीरगन्जलाई जित्ने सम्भावना भएको सूचीमा राखेको छ । विराटनगरमा पनि अघिल्लो निर्वाचनभन्दा अप्रत्याशित रूपमा माहोल खडा भएको मूल्यांकन गर्दै कडा प्रतिस्पर्धा हुने एमालेको विश्लेषण छ । 

अघिल्लो निर्वाचनमा काठमाडौं र पोखरामा मात्र एमालेले सहज जित निकालेको थियो । ललितपुर र भरतपुरमा कडा प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भएको थियो । विराटनगर र वीरगन्जको प्रतिस्पर्धामा भने एमाले धेरै पछि थियो । 

स्थानीय चुनाव नजिकिँदै गर्दा अध्यक्ष ओली आफैँ अधिकांश महानगरको घरदैलो र चुनावी परिचालनमा सहभागी हुने तयारीमा छन् । ओली शनिबार काठमाडौंको चुनावी परिचालनसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । मंगलबार उनी विराटनगर महानगरमा पार्टीको कार्यक्रममा सहभागी हुने गरी गृहजिल्ला झापा जाँदै छन् । 

त्यसक्रममा उनी झापाका दमकलगायतका नगर, विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकामा पार्टीको चुनावी परिचालनसम्बन्धी कार्यक्रममा सहभागी हुने उपमहासचिव रिमालले बताए । तर, ठूला प्रकृतिको आमसभामा पार्टीले ध्यान नदिएको उनले जानकारी दिए । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले महानगरलगायतका स्थानमा अध्यक्ष ओलीको कार्यक्रमको व्यवस्थापन उनको निजी सचिवालयले गरिरहेको बताए । 

यसैबीच, महानगर निर्वाचन परिचालन सचिवालयमा सोमबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ३२ वटै वडाहरूमा चुनावी अभियान व्यवस्थित ढंगले अगाडि बढ्ने बताए । पोखरेलले सोमबारै ३२ वटै वडाको गतिविधि र त्यहाँ भइरहेको चुनावी प्रचारबारे जानकारी पनि लिएका छन् । एमालेले काठमाडौं महानगरमा सबै वडाहरूमा घरदैलो र चुनावी प्रचार अभियान अगाडि बढाइरहेको छ । 

See More On

सुझावित समाचार