डोट्याली कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भट्टले लेखेको पुस्तक ‘छाइल’ सार्वजनिक गरिएको हो । पुस्तकको प्रकाशन ‘बुक्स हिमालय’ले गरेको छ । ‘छाइलको भाषा नरम छ । उपन्यास स्वादिलो छ,’ साहित्यकार अभय श्रेष्ठले भने, ‘मैले त दुई बसाइमै पढी भ्याएँ । यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराएको छ ।’
सुदूरपश्चिमका एक युवाको संघर्ष झल्काइएको उपन्यासमा गरिबी, माओवादी द्वन्द्व र प्रेम मिश्रण छ । यसमा हरेक पात्रको संघर्ष देखाइएको छ । र, अन्त्यमा आशावादी देखाइएको छ । नेपाली साहित्यमा पूर्वी नेपालका कथाहरू छाइरहेका वेला सुदूरपश्चिमेली लवजको अर्गानिक कृति प्रकाशन हुनु सुखद भएको मानव अधिकारकर्मी मोहना अन्सारीले बताइन् । ‘गरिबीभित्र मान्छेले कसरी संघर्ष गर्छ भन्ने यसमा देखाइएको छ,’ उनले भनिन् ।
समीक्षक राजकुमार बानियाँले साहित्यकार श्रेष्ठ, मानव अधिकारकर्मी अन्सारी र उपन्यासकार भट्टका बीचमा रमाइलो किसिमले अन्तत्र्रिmया चलाए । त्यसअघि कवि सुमन थापा ‘संगम’ले छाइल सुदूरपश्चिमको ऐना भएको टिप्पणी गरिन् । ‘डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’ । यो डोट्याली सभ्यताको छायाँ त हुँदै हो, यसमा धेरै भुइँमान्छेका कथा उजागर गरिएको छ,’ उनले भनिन् ।
प्रकाशन संस्थाका प्रमुख पवन शाक्यका अनुसार बुक्स हिमालय लकडाउनका वेलामा स्थापित प्रकाशनगृह हो । चाँडै नै मुलुकका प्रमुख सहरमा ‘छाइल यात्रा’ सञ्चालन गरिने जनाइएको छ ।