०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शना २३ हजार चार सय ३९ मत ल्याएर काठमाडौंको मेयरको प्रतिस्पर्धामा एमाले र कांग्रेसपछि तेस्रो भएकी थिइन् । मेयरका लागि १५ जना स्वतन्त्र उम्मेदवार रहेकामा सबैभन्दा धेरै मत किशोर थापाले ल्याएका थिए । उनले १८ हजार चार सय ९६ मत पाएका थिए ।
०७४ को चुनावमा दर्शना र थापाले पाएको अप्रत्याशित मतले काठमाडौंका मतदाताको मनोविज्ञानबारे राजनीतिक विश्लेषक र दलकै नेताहरूलाई समेत नयाँ ढंगले सोच्ने ठाउँमा पुर्याएको थियो । अहिले दर्शना र थापा आफैँ त चुनावी मैदानमा छैनन्, तर उस्तै प्रकृतिका व्यक्तिको मेयरका लागि उम्मेदवारी परेको छ । दलगत र स्वतन्त्रतर्फ उम्मेदवारीको संख्या बढेको छ ।
चुनावको दिन नजिकिँदै गर्दा काठमाडौंको चुनावी परिणाम र मतदाताको मनोविज्ञान जोडेर नयाँ बहसको पनि सुरुवात भएको छ । एकातिर पा“चदलीय गठबन्धनका तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंह र अर्कोतर्फ ०७४ मा काठमाडौंको मेयर जितेको एमालेका तर्फबाट केशव स्थापित मेयरका लागि चुनावी मैदानमा छन् । काठमाडौंकै पूर्वमेयरसमेत रहेका स्थापितलाई राप्रपा नेपालको पनि समर्थन छ ।
यसबाहेक साझा पार्टीका तर्फबाट समीक्षा बास्कोटा, राप्रपाबाट मदनदास श्रेष्ठ र स्वतन्त्रबाट युवा पुस्तामाझ चर्चित र्यापर बालेन शाह पनि काठमाडौंको मेयरको दौडमा छन् । आसन्न ३० वैशाखमा हुने निर्वाचनका लागि काठमाडौं महानगरको मेयरमा ५६ जनाको उम्मेदवारी परेको छ । यसमध्ये २१ जना विभिन्न दलका छन् भने ३५ जना स्वतन्त्र छन् ।
महानगरपालिकामा ०७४ को तुलनामा २० हजार नौ सय ३३ मतदाता थपिएका छन् । ०७४ मा दुई लाख ७९ हजार तीन सय नौ मतदाता रहेकामा ०७९ मा तीन लाख दुई सय ४२ पुगेका छन् । यसपटक मेयर–उपमेयर पदमा विजयका लागि नयाँ मतदाताको भूमिकासमेत महत्वपूर्ण हुन सक्ने बुझाइ छ । दलहरूको आफ्नै शक्ति र जनमत, उम्मेदवारहरूको लोकप्रियता, चुनावी घोषणापत्रसँगै मतदाताको मनोविज्ञान पनि काठमाडौं महानगरको चुनावी नतिजामा असर पार्ने महत्वपूर्ण विषय हुन् । उम्मेदवार र पार्टीहरूले ‘स्मार्ट सिटी’, सुशासनसहितको महानगर नारासहित चुनावलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । प्रतिबद्धतापत्रमा स्थानीय मुद्दादेखि राष्ट्रिय एजेन्डासम्म समेटिएको छ ।
०७४ को चुनावमा काठमाडौंको मेयरमा लडेका किशोर थापा यहाँका मतदाता दुई धारमा विभाजित रहेको देख्छन् । ‘एकथरी मानिस एकदमै स्वतन्त्र र निष्पक्ष छन्, कुनै पार्टीमा लागेका छैनन् । उनीहरूले उम्मेदवार हेर्छन् र उसको प्रतिबद्धता, व्यक्तित्वको मूल्यांकन गरेर भोट हाल्छन्,’ थापा भन्छन्, ‘अर्काथरी मानिस पार्टीमा आबद्ध छन् । उनीहरू पार्टीका विरुद्ध प्रश्न गर्न सक्दैनन्, पार्टीले जसलाई उम्मेदवार बनाए पनि भोट हाल्छन्, विवेक प्रयोग गर्न पाउँदैनन् ।’ यी दुई कित्ताबाहेक काठमाडौंमा लाभहानिको हिसाब गर्नेको संख्या पनि उल्लेख्य रहेको थापा बताउँछन् । त्यस्ता मान्छेले पार्टीहरूसँग लाभ लिएर भोट दिने गरेको उनको बुझाइ छ ।
लेखक तथा काठमाडौंकै रैथाने मल्ल के सुन्दर पनि दलीय संरचना, लोभ–लालच र कहिलेकाहीँ उम्मेदवारको व्यक्तित्वले महानगरको चुनाव प्रभाव पार्ने बताउँछन् । ‘जनस्तरसम्म फैलिएको दलीय संरचना, उम्मेदवारहरूको व्यक्तित्व र चरित्र तथा नगरभित्र देखिएका विकृत गतिविधिलगायत कारणले धेरै मत खस्न सक्छ,’ उनले भने, ‘मतदाताले यी विषयमा चासो राखेका हुन्छन् ।’

०७४ को चुनावमा मेयरकी उम्मेदवार दर्शना काठमाडौंका मतदाता वैचारिक रूपमा धेरैतिर बाँडिएको अनुभव सुनाउँछिन् । ‘मान्छेको ‘मुड’ एउटै नहुन सक्छ, यहाँका मतदाता एकदमै परिवर्तनशील छन् । पुराना अनुहारले केही काम गरेनन् भन्ने पनि छ । पैसामा भोट किनबेच गर्ने पनि भेटिन्छन् । ‘नो भोट’ हुनुपर्छ भन्ने पनि छन् । केही मतदाता आफूले पहिल्यैदेखि भोट हालेको चुनाव चिह्न रोज्छन् । यहाँका मतदातामा धेरै कुराको ‘मिक्सअप’ छ ।’
०७४ मा भन्दा २० हजार मतदाता थपिएर काठमाडौं महानगरमा अहिले तीन लाख दुई सय ४२ मतदाता पुगेको निर्वाचन आयोगको तथ्यांक छ । ०७४ मा काठमाडौं महानगरको मेयरमा विजयी एमालेका विद्यासुन्दर शाक्य र उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशी थिए । शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर मेयर बनेका थिए भने जोशीले ४५ हजार दुई सय ६९ मत ल्याएका थिए । विवेकशील नेपाली दलकी उम्मेदवार दर्शना २३ हजार चार सय ३९ मत ल्याएर तेस्रो तथा माओवादीका उम्मेदवार सर्वोत्तमदास डंगोल सात हजार नौ सय तीन मत ल्याएर चौथो भएका थिए । स्वतन्त्र उम्मेदवारतर्फ सबैभन्दा बढी मत ल्याएका थापाले १८ हजार चार सय ९६ मत ल्याएका थिए ।
०७४ को तुलनामा अहिलेको चुनावमा दलगत र स्वतन्त्र दुवैतर्फ उम्मेदवार बढेका छन् । मेयर पदमा ०७४ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने ०७९ को निर्वाचनमा ३५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । ११ र १२ वैशाखमा निर्वाचन आयोगसमक्ष काठमाडौंको मेयरमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यो संख्या ०७४ को निर्वाचनमा परेको उम्मेदवारीभन्दा दोब्बर हो । त्यतिवेला २८ जनाको मात्र उम्मेदवारी थियो । जब कि ०७४ को निर्वाचनमा २८ जनाले उम्मेदवारी दिएकामध्ये १३ जनाले मात्र दलबाट प्रतिनिधित्व गरेका थिए ।०७४ को निर्वाचनको तुलनामा ०७९ मा स्वतन्त्र उम्मेदवारी दिने पनि बढेका छन् । मेयर पदमा ०७४ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएकोमा अहिले ३५ जना स्वतन्त्र उम्मेदवार छन् ।उपमेयरमा पनि यसपटक ०७४ को भन्दा बढी उम्मेदवारी छ । ०७४ मा १३ जनाले उपमेयरमा उम्मेदवारी दिएकोमा यसपटक ३३ जना छन् । ०७४ मा उपमेयरमा ६ जना स्वतन्त्र उम्मेदवार थिए भने अहिले तेब्बरले बढेर १८ जना पुगेका छन् ।
यहाँका मतदातालाई पुराना पार्टीको जन्जालबाट फुत्किन गाह्रो हुने थापाको विश्लेषण छ । ‘अघिल्लोपटक काठमाडौंवासीले राम्रो उम्मेदवारलाई जिताउन प्रयास गरेका हुन्, मैले पनि राम्रो अंक ल्याएको हो । त्यो संख्या अहिले बढ्छ होला । तर, पुराना पार्टीको जन्जालबाट आमजनतालाई उम्किन धेरै गाह्रो पर्छ ।’दलीय उम्मेदवारलाई भन्दा स्वतन्त्रलाई विजयी हुन गाह्रो हुने थापाको मूल्यांकन छ । स्वतन्त्र उम्मेदवारलाई सबैभन्दा ठूलो समस्या चुनाव चिह्नले पार्ने उनको भनाइ छ । ‘स्वतन्त्र उम्मेदवार चुनाव घोषणा भएपछि मात्र देखा पर्ने हुनाले मतदाताले चिन्न/बुझ्न पाएकै हुँदैनन् । अलिअलि व्यक्ति चिन्योे भने पनि चुनाव चिह्न चिन्दैनन्,’ थापाले भने, ‘अहिले पनि स्वतन्त्र उम्मेदवार धेरै हुनुुहुन्छ, तर मतदातालाई चुनाव चिह्न थाहा छैन ।’
स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न मतपत्रमा भित्रभित्र हुने भएकाले पनि मत कम आउने थापाको भनाइ छ । उनी थप्छन्, ‘स्वतन्त्र उम्मेदवारले रोजेको चुनाव चिह्न पाउँदैनन् । त्यसैमाथि, आयोगले दिएको चिह्न ठूलो मतपत्रको भित्रभित्र हुने भएकाले भेट्नै मुस्किल हुन्छ । यसले स्वतन्त्र उम्मेदवारलाई धेरै गाह्रो पार्छ ।’स्वतन्त्र उम्मेदवारको तुलनामा काठमाडौं महानगरमा राजनीतिक दलहरूलाई सजिलो हुने थापाको विश्लेषण छ । वर्षौँदेखि एउटै चुनाव चिह्न हुने र मतपत्रमा पनि अगाडि हुने हुनाले दलका उम्मेदवारलाई बढी मत आउने उनको भनाइ छ । ‘दलहरूको तल्लो तहसम्म संरचना हुन्छ, सहज हुन्छ । फेरि उनीहरूको पुरानै चिह्न पनि हुन्छ,’ उनले भने ।
०७४ को निर्वाचनमा काठमाडौं महानगरमा १५ जना स्वतन्त्र उम्मेदवारले १८ हजार नौ सय २० मत मात्र प्राप्त गरेका थिए । त्यसमध्ये थापाको एक्लै १८ हजार चार सय ९६ मत थियो । गोर्कीप्रसाद श्रेष्ठले एक सय ६४ मत ल्याएका थिए भने अन्य १३ जनाले ५० मत पनि कटाएका थिएनन् । उपमेयरतर्फ ६ जना उम्मेदवारले १२ हजार एक सय ४३ मत ल्याएका थिए । स्वतन्त्रतर्फ निरुपमा यादवले सबैभन्दा धेरै ११ हजार पाँच सय ३३ मत ल्याएकी थिइन् । त्यसैगरी, राधिका महर्जनले दुई सय ४२, सावित्री खरेलले एक सय ३२, पुनम डंगोलले एक सय १९ मत ल्याएका थिए । अन्य दुईजना प्रतिस्पर्धीको मत सयभन्दा कम थियो ।
०७४ की उम्मेदवार दर्शना स्वतन्त्र उम्मेदवारको तुलनामा दलका प्रतिनिधिलाई चुनावमा बढी सहज हुने अनुभव सुनाउँछिन् । ‘काठमाडौं महानगरमा पार्टीको उम्मेदवार र चिनिएका व्यक्ति भए धेरै सजिलो हुन्छ । स्वतन्त्रको हकमा पहिलादेखि समाजसँग घुलमिल भएको, सामाजिक सेवामा लागेको र प्राज्ञिक हैसियत राम्रो रहेको पाए काठमाडौं महानगरका मतदातले भोट हाल्छन्,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल, मिडियामा उम्मेदवारले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्नेले पनि मत परिणाममा प्रभाव पार्ने रहेछ । यहाँका मतदाताले उम्मेदवारको गतिविधिमा एकदमै चाख राख्छन्, नजिकबाट हेर्छन् ।’
एमालेका शाक्यले मेयर जिते पनि ०७४ को निर्वाचनमा कांग्रेसकी हरिप्रभा खड्कीले उपमेयर जितेकी थिइन् । उनले ५८ हजार नौ सय ५२ मत ल्याएकी थिइन् । उनको प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत ल्याएका थिए । त्यस्तै, तेस्रो भएकी माओवादीकी उम्मेदवार सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत ल्याएकी थिइन् । उपप्रमुखतर्फ यसपटक एमालेबाट सुनिता डंगोल, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, राप्रपाबाट विनिता मगैया र विवेकशील साझाबाट कीर्ति कंसाकारलगायत ३३ जनाको उम्मेदवारी छ ।
अहिले मेयरमा उठेका उम्मेदवारले काठमाडौंको मर्म नबुझेको लेखक मल्लको तर्क छ । विगतदेखि नै काठमाडौंको मर्म नबुझेकाहरू मेयर बनिरहेको उनको आरोप छ । ‘अहिलेको चुनावमा कसैले जित्ला, कसैले हार्ला, त्यो ठूलो होइन । तर, दल र स्वतन्त्र रूपमा उठेका अहिलेका उम्मेदवारले काठमाडौंको मर्मलाई बुझ्न सकेका छैनन्,’ उनले भने, ‘काठमाडौं एउटा सानो भौगोलिक क्षेत्रमा रहेको नगर हो । मुख्य रूपमा यहाँको प्रकृति र संस्कृतिलाई विशेष ध्यान दिन जरुरी छ । यसलाई कसैको घोषणापत्रले पनि सम्बोधन गरेको छैन ।’