जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
आक्रामक जवाफी ब्याटिङ गरेको जिम्बाब्वे ए विरुद्ध नेपालको अपेक्षाअनुसारको बलिङ चल्न सकेन । जिम्बाब्वेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाउँदा कप्तान टोनी मुन्योंगा २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।
बलिङतर्फ नेपाली सिनियर टिममा डेब्यु गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गरेका थिए । ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको योगदान दिए । १६ बलमा एक चौकासहित ९ रन बनाएर आसिफ आउट हुँदा आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।
तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे । बलिङतर्फ जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक–एक विकेट लिएका थिए ।
यससँगै नेपालले जिम्बाब्वेविरुद्धको तीन ट्वान्टी–२० शृंखला अन्तर्गतको पहिलो खेलबाट हार भोग्दै शृंखलाको सुरुवात गरेको छ । जितसँगै जिम्बाब्वेले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको छ । सिरिजअन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि मैदानमा नै खेल्नेछ ।