कमल थापाले पार्टी छाडेयता एक लाख कार्यकर्ता थपिएको दाबी
पार्टी महाधिवेशनबाट १८ मंसिरमा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा दौडधुप बाक्लिएको छ । तर, राप्रपाले स्थानीय निर्वाचनभन्दा पनि आगामी प्रदेश र संघीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी रणनीति तय गरेको छ ।
महाधिवेशनबाट पराजित भएपछि पूर्वअध्यक्ष कमल थापाको समूह पार्टीबाट अलग भए पनि राप्रपाले यसबीचमा करिब एक लाख कार्यकर्ता थपेको दाबी गरेको छ । यही बीचमा स्थानीय तहको निर्वाचनमा राप्रपाले काठमाडौं उपत्यकासहित अधिकांश ठाउँबाट उम्मेदवारी दिएको छ । तर, स्थानीय निर्वाचनमा राप्रपाले झापामा सत्तागठबन्धनसँग र चितवनमा एमालेसँग तालमेल गरेको छ ।
मोहन श्रेष्ठ, प्रचार विभाग प्रमुख, राप्रपा
अहिले देशभरि लोकप्रिय मत संकलन गर्दै छौँ । त्यसमा टेकेर भविष्यमा संसद् र प्रदेशको चुनावका लागि रणनीति बनाउँछौँ । स्थानीय तहको निर्वाचनमा राम्रो हुने नै छ । तर, त्योभन्दा पनि हाम्रो जोडबल आगामी संसदीय निर्वाचनको तयारीमा छ ।
अध्यक्ष लिङ्देन प्रमुख सहरका चुनावी सभामा दौडधुपमा छन् । राप्रपा विस्तारित भए पनि उसले स्थानीय तहमा धेरै अपेक्षा गरेको छैन । अहिलेको जनलहरलाई संघीय निर्वाचनको मतमा परिणत गर्ने रणनीति राप्रपाको छ । ‘अहिले देशभरि लोकप्रिय मत संकलन गर्दै छौँ । त्यसमा टेकेर भविष्यमा संसद् र प्रदेशको चुनावका लागि रणनीति बनाउँछौँ,’ राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा राम्रो हुने नै छ । तर, त्योभन्दा पनि हाम्रो जोडबल आगामी संसदीय निर्वाचनको तयारीमा छ ।’ राप्रपा जनघनत्व भएका ठाउँमा बढी केन्द्रित छ । श्रेष्ठका अनुसार राप्रपा अहिले तराई मधेसमा केन्द्रित छ । अध्यक्ष लिङ्देनको गृहजिल्ला झापादेखि पश्चिमसम्म जनघनत्व बढी भएका ठाउँमा राप्रपाको कार्यक्रम भएका छन् । मधेस प्रदेशको इपिसेन्टर वीरगन्जलाई बनाएर पार्टी संगठन विस्तारमा सक्रिय भएको श्रेष्ठले बताए । यसबाहेक राप्रपा सदरमुकाम र सहरी क्षेत्रमा बढी केन्द्रीकृत छ ।
वीरगन्जमा पत्रकार गिरीश गिरीलाई मेयरका रूपमा अगाडि सार्नु रणनीतिक रहेको नेताहरू बताउँछन् । उनलाई राप्रपाले केन्द्रीय समिति र पदाधिकारीमा ल्याएर मधेस प्रदेशमा प्रभाव जमाउने रणनीति छ । जसरी केन्द्रमा लिङ्देन नयाँ नेताका रूपमा अघि सरे, सबै प्रदेशमा नयाँ नेतृत्व स्थापित गर्ने राप्रपाको तयारी छ । ‘सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई त्यही क्रममा पार्टीमा स्वागत भएको हो । उनी आएपछि कर्णाली क्षेत्रमा पार्टीको संगठन विस्तार भएको छ,’ राप्रपाका एक पदाधिकारी भन्छन् । राप्रपाको चुनावी अभियानमा अभिनेत्री रेखा थापाको पनि सक्रियता बढेको छ । पूर्वराजा ज्ञानेन्द्रको पनि सहानुभूति भएका कारण लिङ्देनले दरबारनिकटको मत प्राप्त गर्ने अपेक्षा गरेका छन् ।
‘पार्टी कार्यालयले छापेको सदस्यता रसिद मात्रै ८३ हजारभन्दा बढी काटिएको छ । धेरै ठाउँमा पार्टी प्रवेश गर्नेहरूलाई सदस्यता रसिद दिनै भ्याइएको छैन,’ राप्रपा प्रवक्ता श्रेष्ठको दाबी छ, ‘यो नेतृत्व परिवर्तनपछिको लहर हो । कमल थापाले पार्टी छाडेको असर छैन, बरु पार्टी विस्तारित भएको छ । जनताले नेतृत्व परिवर्तन खोजेका रहेछन् भन्ने अनुभूति यसबीचमा भयो ।’ राप्रपामा कांग्रेसबाट भन्दा कम्युनिस्ट पृष्ठभूमिका कार्यकर्ता बढी प्रवेश गरेको श्रेष्ठको भनाइ छ । नवप्रवेशीहरूको व्यवस्थापन अझै गर्न नसकिएको श्रेष्ठ बताउँछन् । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समर्थक र संगठन बढाउने राप्रपाको रणनीति छ ।
धर्मलाई राजनीतिसँग जोडेर लैजाने राप्रपाको दाउ छ । त्यसैले धर्मान्तरण कम भएको र हिन्दू जनमत बढी भएका ठाउँमा अहिले पार्टी केन्द्रित रहेको राप्रपाका नेताहरूको भनाइ छ । ‘मधेसमा धर्मान्तरण कम छ । त्यहाँ हामीलाई काम गर्न सजिलो हुने गरी अघि बढ्छौँ,’ श्रेष्ठ भन्छन् । हिन्दू जनमत बढी भएको र मुलुकको आधा जनसंख्या तराई मधेसमा भएको हुनाले हाम्रो बढी ध्यान अब त्यसतर्फ हुन्छ ।’
राप्रपाका देशैभरिका उम्मेदवारले नजिकको प्रसिद्ध मन्दिरमा गएर भ्रष्टाचार नगर्ने कसम खाएका छन् । ‘यो नौटंकी होइन, वचनबद्धता हो,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यसले पनि हामीप्रति जनताको सहानुभूति बढेको बुझेका छौँ ।’
अहिले देशभरि लोकप्रिय मत संकलन गर्दै छौँ । त्यसमा टेकेर भविष्यमा संसद् र प्रदेशको चुनावका लागि रणनीति बनाउँछौँ । स्थानीय तहको निर्वाचनमा राम्रो हुने नै छ । तर, त्योभन्दा पनि हाम्रो जोडबल आगामी संसदीय निर्वाचनको तयारीमा छ ।