एमालेको प्रतिबद्धता– पोखरामा मोनोरेल र मेट्रोरेल

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

एमालेले पोखरामा मोनोरेल र मेट्रोरेलसहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘श्रम, सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नारासहित एमालेले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको प्रतिबद्धता-पत्र शनिबार सार्वजनिक गरेको हो । 

एमाले पोखरा महानगरपालिका निर्वाचन परिचालन कमिटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धता-पत्रमा मोनोरेल तथा मेट्रोरेल, पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन गर्ने उल्लेख छ । फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजलगायतका प्रतिबद्धता पनि एमाले उम्मेदवारले जनाएका छन् । 

यसअघि ०७४ को निर्वाचनमा पनि एमालेले आफनो घोषणा-पत्रमा रेलदेखि फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसम्मका प्रतिबद्धता जनाएको थियो । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा प्रतिबद्धताअनुसारको काम गर्न सकेनन् । अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता कागजमै सीमित हुँदा एमालेले फेरि मोनोरेल र मेट्रोरेलको सपना देखाएको छ । 

निर्वाचन आचारसंहित उल्लंघन  
निर्वाचन आयोगले गत २५ चैतदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिताविपरीत पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिबद्धता-पत्र नै सार्वजनिक गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । एमालेको घोषणा-पत्र सार्वजनिक गर्ने कार्यक्रम पोखरा महानगरपालिका–१६ का अध्यक्ष जीवन आचार्यले संचालन गरेका थिए । 

सुझावित समाचार