रुकुम पश्चिमका ४ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन भएको छ। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन भएको हो।
गठबन्धनको संकेत भने उम्मेदवारी दर्ताकै दिन वैशाख १२ गते मिलेको थियो। तर, शुक्रबार औपचारिक गठबन्धन बनेको हो। चारवटै स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख पाउने गरी गठबन्धन भएको छ। एमालेले प्रमुख र अध्यक्षमा कमजोर मानिएका पात्रलाई उम्मेदवार बनाएको थियो। त्यसकारण प्रमुख र अध्यक्षमा एमालेले फिर्ता लिने आकलन गरिएको थियो। यद्यपि, यी चारमध्ये सानीभेरी गाउँपालिकामा भने उम्मेदवार चयनपूर्व नै गठबन्धन बनेको थियो।
मुसीकोट नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका महेन्द्र केसी प्रमुख र एमालेका थलवीर ओली उपप्रमुखका उम्मेदवार बनेका छन्। चौरजहारीमा कांग्रेसका प्रेमबहादुर ओली प्रमुख र टंकप्रसाद ओली उपप्रमुखको उम्मेदवार बन्दा आठबिसकोटमा कांग्रेसका धीरेन्द्रकुमार बटाला प्रमुख र एमालेका दिनेश चन्द उपप्रमुखको उम्मेदवार बनेका छन्। सानीभेरीको अध्यक्षमा कांग्रेसका गोर्खप्रसाद चन्द र एमालेका प्रकाश खड्का उपाध्यक्षका उम्मेदवार छन्।
कांग्रेस–एमाले गठबन्धन भएकामध्ये सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकामा एकीकृत समाजवादीले पनि यो गठबन्धनलाई सघाएको छ। मुसीकोटबाहेक अब अन्य स्थानीय तहमा कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका बीचमा प्रतिस्पर्धा हुनेछ। मुसीकोटमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच गठबन्धन बनेको छ।
सत्तागठबन्धनका पाँच दलबीच तालमेल प्रयास सफल नभएपछि जिल्लामा दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए। तर, कांग्रेसले सत्तागठबन्धनविरुद्ध जिल्लामा एमालेसँग चुनावी गठबन्धन गरेको छ।