जिम्बावेविरुद्धको खेल महत्वपूर्ण : पुबुदु

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार टेस्ट मान्यताप्राप्त जिम्बावेको ए टोलीविरुद्ध एकदिवसीय तथा टी–२० सिरिज खेल्दै छ । नेपालले शनिबार जिम्बावेविरुद्ध एकदिवसीय खेल खेल्नेछ । जिम्बावेविरुद्धको सिरिज निकै महत्वपूर्ण रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले बताएका छन् । टोलीको घोषणा गर्दै प्रशिक्षक पुबुदुले अमेरिकामा हुने आइसिसी विश्वकप लिग २ अघि जिम्बावेविरुद्धको प्रतिस्पर्धा महत्वपूर्ण रहेको जनाए । 

‘विश्वकप डिभिजन २ मा प्रतिस्पर्धा गर्नुअघि यो प्रतियोगिताले हामीलाई निकै सहयोग गर्ने अपेक्षा छ,’ पुबुदुले भने, ‘खेलाडीलाई एक्सपोज गराउने मौका छ ।’ उमेर समूहका खेलाडीलाई समेत समावेश गरिएको नेपाली टोलीमा अनुभवी खेलाडी पनि छन् । ‘यो प्रतिस्पर्धा युवा तथा अनुभवी खेलाडीले अवसरका रूपमा लिन सक्छन्,’ उनले भने, ‘हामी युवाका लागि अवसर प्रदान गर्ने भएकाले ब्याटिङ सुधारमा केन्द्रित रहनेछौँ ।’ 

जिम्बावेको टोली सिनियर नभएका कारण नै एकदिवसीय तथा टी–२० सिरिजले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । नेपाल र जिम्बावेका खेलाडीले सिरिज अवधिमा बनाउने कीर्तिमान जोडिनेछैनन् । नेपालका कप्तान सन्दीप लामिछानेले टेस्ट राष्ट्रको ए टोलीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए ।

‘जिम्बावेविरुद्ध खेल्न हामी तयार छौँ,’ पत्रकार सम्मेलनमा सन्दीपले भने । सन्दीपका अनुसार जिम्बावेसँगको एकदिवसीय तथा टी–२० खेलमा खेलाडीहरू प्रयोग हुनेछन् । ‘हामीले पपुवा न्युगिनी र मलेसियासँगको शृंखलामा धेरै प्रयोग गरेका थियौँ,’ उनले भने, ‘अमेरिकामा भ्रमण गर्नुअघि टोली बलियो बनाउने नै लक्ष्य हो ।’ 

जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होन्डोले आफ्नो टोलीमा युवा तथा पर्याप्त अनुभव नभएका खेलाडी रहेको जनाएका छन् । ‘टोलीमा युवा खेलाडी छन्, धेरैजसो खेलाडीसँग अनुभव पनि छैन, हामी नेपालविरुद्ध राम्रो खेल्ने योजनामा छौँ,’ डगलासले भने, ‘केही क्षेत्रीय खेल खेलेर खेलाडी आएका छन् ।’

चार खेलाडीको पुनरागमन 
नेपालले एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । सुनील धमला लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका छन् । यसैगरी, सुसन भारी, विनोद भण्डारी र किशोर महतोले टोलीमा पुनरामगन गरेका छन् । प्रशिक्षक दसानायेकेले युवा अलराउन्डर आदिल अन्सारीलाई पहिलोपटक एकदिवसीय टोलीमा राखेका छन् । गत महिना सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा अन्सारीले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

सुझावित समाचार