प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । प्रदीप र सलोनीको जोडीले शुक्रबार उपाधि भिडन्तमा प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा सेटमा हराउँदै पहिलो भएका छन् । ५५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६ र १०–६ ले पाखा लगाउँदै उपाधि हात पारे ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलमा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५ र ६–३ ले हराउँदै फाइनल स्थान पक्का गरेका छन् । प्रणव खनालले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले पन्छाउँदै फाइनलमा पुगे । महिला एकलमा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१ र ६–४ ले निराश पारी फाइनलमा पुगिन् । अभिलाषा विष्टले ईशाश्री शाहलाई ६–२ र ६–४ को सेटमा निराश पार्दै सलोनीसँगको स्वर्ण भिडन्त पक्का गरिन् । भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६ र १०–४ ले स्तब्ध पार्दै फाइनलमा पुगेका छन् ।
सोही स्पर्धाको अर्को सेमिफाइनलमा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–२ र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । ६५ वर्षमाथि पुरुष एकलमा कमल थापाले विदुर विष्टलाई ४–२ र ४–१ ले हराउँदै फाइनल पुगे । दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१ र ४–१ ले हराउँदै थापाविरुद्धको फाइनल समीकरण तयार पारे । ५५ वर्षमाथि पुरुष एकलको सेमिफाइनलमा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२ र ६–२ ले हराए । निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४ र ६–१ को सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षत्री र हेमराज ढकालको जोडीलाई ६–३ र ६–१ को सेटमा हराएका छन् । यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायस्थको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।
३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७ र १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साही र समीर शेरचनको जोडीलाई ६–३ र ६–१ को सेटमा हराउँदै फाइनलमा पुगे ।