चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

शीर्ष नेताहरूले मनाउन भरपुर प्रयास गर्दा पनि केही महानगर र उपमहानगरमा प्रमुख दलहरूका बागी कायमै

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा मनोनयन गरेका चार हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन् । ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार दुई सय २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरबाट चार हजारभन्दा बढीको उम्मेदवारी फिर्ता भएको छ । तर, यकिन तथ्यांक शुक्रबार मध्यरातिसम्म पनि आयोगले संकलन गर्न सकेको छैन । ‘यो पनि प्रारम्भिक तथ्यांक हो, यसमा केही थपघट हुन सक्छ,’ प्रवक्ता पौडेलले भने । 

स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी एमालेले दिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमालेले विभिन्न पदमा जम्मा ३३ हजार पाँच सय तीनजनाको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै, कांग्रेसले ३१ हजार चार सय २५, माओवादी केन्द्रले २२ हजार दुई सय ७९, जनता समाजवादी पार्टीले नौ हजार चार सय ८१, लोकतान्त्रिक समाजवादी पार्टीले चार हजार सात सय ६१, एकीकृत समाजवादीले ११ हजार तीन सय ३० उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार सात सय ५२ जनाको उम्मेदवारी दर्ता गराएको छ । आयोगको तथ्यांकअनुसार १२ हजार सात सय ८९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा कुल ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदै छ । 

१३ दलको कुनै पनि उम्मेदवारी परेन 
स्थानीय निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए, तीमध्ये १३ दलले उम्मेदवारी दर्ता गरेका छैनन् । आयोगका अनुसार नेपाल सुकुमबासी पार्टी (लोकतान्त्रिक), संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, समावेशी लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय विकास पार्टी, मितेरी पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, त्रिमूल नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी र वैज्ञानिक समाजवादी पार्टीले कुनै पनि पदमा उम्मेदवार उठाएका छैनन् । 

उम्मेदवारलाई आज निर्वाचन चिह्न दिइँदै 
स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । आयोगको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि आज बिहान १० बजेदेखि ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । 

मतगणनास्थलमा सिसिक्यामेरा अनिवार्य
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सात सय ५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रूपमा सिसिक्यामेरा प्रबन्ध गर्न लगाएको छ । यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मतगणना पारदर्शी र सुरक्षित बनाउन तथा कुनै विवाद भए विद्युतीय अभिलेखीकरण हेर्न उपयोगी हुने आयोगको विश्वास छ । स्थानीय तह निर्वाचनका लागि कुल १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित
बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता विधानको व्यवस्थाबमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा भनिएको छ । यसअघि कांग्रेसले एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवार उठाएको भन्दै डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई निष्कासित गरेको थियो । कांग्रेसको विधान, २०१७ को धारा उपधारा ४ (१३) मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक–समर्थक भएमा पार्टी सदस्यता पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था छ । 

महानगरमा प्रमुख दलका विद्रोही उम्मेदवार कति फिर्ता भए ?

सत्तागठबन्धनविरुद्ध पोखरा महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेसका नन्द तिवारी शुक्रबार उम्मेदवारी फिर्ता लिँदै । तस्बिर : गोविन्द सुवेदी

काठमाडौं र ललितपुर महानगरको मेयरका लागि सबैभन्दा धेरै उम्मेदवारी परेको छ, तर सत्तागठबन्धन र विपक्षी एमालेका विद्रोही उम्मेदवार छैनन्

पोखरा : कांग्रेसका दुईको फिर्ता, एक कायम

पोखरामा कांग्रेसका ऋषिराम सापकोटा, नन्दप्रसाद तिवारी र विमल कार्कीले बागी उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये सापकोटा र तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । कार्की भने कायमै छन् । सत्तागठबन्धनका तर्फबाट पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेका कृष्ण थापा मेयरको प्रतिस्पर्धामा छन् ।

भरतपुर : कांग्रेसका बागी फिर्ता भएनन्
भरतपुर महानगरमा गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनलाई मनाउन जिल्लादेखि केन्द्रसम्मका कांग्रेस नेता लागेका थिए । तैपनि उनले उम्मेदवारी फिर्ता लिएनन् । भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र एमालेका विजय सुवेदी मेयरको उम्मेदवार छन् । 

विराटनगर : मेयरमा बागी फिर्ता, उपमेयरका कायमै

विराटनगरको मेयरमा सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका माओवादीकी शारदा मैनाली र जनमोर्चाका टंकप्रसाद गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेसँग गठबन्धन गरेका परिवार दलका महेश निरौलाले पनि मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सत्तागठबन्धनका उपमेयरविरुद्ध बागी उम्मेदवारी दिएका जसपाकै उमेश यादव र माओवादीकी नमिता न्यौपानेले भने फिर्ता लिएनन् । विराटनगरमा सत्तागठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा प्रतिस्पर्धामा छन् । सत्तागठबन्धनबाट उपमेयरमा जसपाका अमरेन्द्र यादव र एमालेकी शिल्पा निरौला कार्की मैदानमा छन् ।

वीरगन्ज : एमालेको गठबन्धनमा उपमेयरको बागी
वीरगन्ज महानगरमा एमालेले मेयर र लोसपाले उपमेयरमा तालमेल गरेका छन् । तर, उपमेयरमा लोसपाकी रम्भा मिश्रले बागी उम्मेदवारी दिएकी थिइन् । उनले उम्मेदवारी फिर्ता लिएकी छैनन् । सत्तागठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र विपक्षी गठबन्धनका तर्फबाट एमालेका विजय सरावगी चुनावी मैदानमा छन् । 

उपमहानगर :  कतै बागी कायमै, कतै फिर्ता

धनगढी : कांग्रेसका विद्रोहीले फिर्ता लिएनन्
धनगढीमा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका नृप वड मेयरका उम्मेदवार छन् । उनका विरुद्ध कांग्रेसकै प्रभाकर भण्डारीले दिएको बागी उम्मेदवारी फिर्ता भएको छैन । एमालेका तर्फबाट रणबहादुर चन्द मेयरका उम्मेदवार छन् । त्यस्तै, उपमेयरमा सत्तागठबन्धनको उम्मेदवारविरुद्ध जनमोर्चाकी अञ्जना श्रेष्ठ मास्केले दिएको उम्मेदवारी भने फिर्ता लिएकी छिन् । 

नेपालगन्ज : फिर्ता भए बागी
नेपालगन्जमा गठबन्धनविरुद्ध उपमेयरमा बागी बनेकी माओवादीकी ताराकुमारी खत्रीले उम्मेदवारी फिर्ता लिएकी छिन् । नेपालगन्जमा सत्तागठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट र एमालेबाट पशुपतिदयाल मिश्र उम्मेदवार छन् ।

तुलसीपुर : माओवादीकी बागी उम्मेदवार फिर्ता
उपमेयरविरुद्ध बागी बनेकी माओवादीकी मनकुमारी महतले उम्मेदवारी फिर्ता लिएकी छिन् । यहाँ मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र एमालेबाट टीकाराम खड्का उम्मेदवार छन् । दाङकै घोराहीमा बागी उम्मेदवार छैनन् । मेयरमा सत्तागठबन्धनबाट माओवादीका हेमराज शर्मा र एमालेबाट नरुलाल चौधरी उम्मेदवार छन् । 

बुटवल : गठबन्धनका विद्रोही फिर्ता
बुटवलमा सत्तागठबन्धनका उम्मेदवारविरुद्ध मेयरमा बागी बनेका जसपाका सुरज हितान र जनमोर्चाका कृष्णप्रसाद पोखरेलले उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा पनि जसपाकी सम्झना पौडेल र जनमोर्चाकी रेणुकुमारी सिंह क्षेत्रीले पनि बागी उम्मेदवारी फिर्ता लिएका छन् । बुटवलको मेयरमा सत्तागठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।

हेटौँडा : गठबन्धनका बागी फिर्ता भए
हेटौँडामा सत्तागठबन्धनका मेयरविरुद्ध बागी बनेकी जसपाकी दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् । उपमेयरमा विद्रोही उम्मेदवार रहेका एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा सत्तागठबन्धनका तर्पmबाट मेयरमा एकीकृत समाजवादीकी मीना लामा र एमालेका अनन्त पौडेल मैदानमा छन् ।

जितपुर–सिमरा : विद्रोही फिर्ता, कलैयामा प्रमुख दलका बागी छैनन्
मेयर र उपमेयरमा सत्तागठबन्धनविरुद्ध बागी बनेका जसपा र जनमोर्चाका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरमा जसपाका सोहन शर्मा  र जनमोर्चाका शेरबहादुर कार्की तथा उपमेयरमा जसपाकी चित्रलेखा चौधरी र जनमोर्चाकी देवी आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । यहाँ मेयरमा सत्तागठबन्धनबाट माओवादीका राजन पौडेल र एमालेका सरस्वती चौधरी उम्मेदवार छन् । बाराकै कलैया उपमहानगरमा भने सत्तागठबन्धन र विपक्षी एमालेका विद्रोही उम्मेदवार छैनन् ।  मेयरमा सत्तागठबन्धनबाट कांग्रेसका राजेश राय गुप्ता र एमालेबाट विनोदप्रसाद साह उम्मेदवार छन् । 

जनकपुर : सत्तागठबन्धन र एमालेका बागी कायमै
जनकपुरमा सत्तागठबन्धन र एमालेका पनि विद्रोही उम्मेदवार छन् । दुवैका विद्रोहीले फिर्ता लिएनन् । मेयरमा बागी बनेका कांग्रेसका मनोज साह र एमालेका रामकेवल साह तथा उपमेयरमा कांग्रेसका निर्मल चौधरी र एमालेका नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएनन् । जनकपुरमा सत्तागठबन्धनबाट जसपाका लालकिशोर साह र एमालेबाट शिवशंकर साह उम्मेदवार छन् ।

इटहरी : माओवादीका सबै बागी फिर्ता
इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरसहित २० वटै वडाबाट माओवादीले उम्मेदवारी फिर्ता लिएको छ । माओवादीले मेयरमा भानु मैनाली र उपमेयरमा सुशीला उप्रेतीको उम्मेदवारी दर्ता गराएको थियो । गठबन्धनका तर्फबाट इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र एमालेका याम सुब्बा छन् । 

धरान : फिर्ता भए एकीकृत समाजवादीका बागी
मेयरमा गठबन्धनविरुद्ध बागी बनेका एकीकृत समाजवादीका रेवतीरमण राई र उपमेयरमा अमृता सुनारले उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ गठबन्धनका तर्पmबाट मेयरमा कांग्रेसका किशोर राई र एमालेका मञ्जु भण्डारी सुवेदी उम्मेदवार छन् ।

स्थानीय तहहरूमा उम्मेदवारी फिर्ता

बाँके : बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका बलराम शर्माले फिर्ता लिएका छन् । त्यस्तै, जानकी गाउँपालिकामा अध्यक्षका लागि एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका इन्द्रबहादुर थापा र उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी सिर्जना धिताल पनि प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बैजनाथ गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार नेत्रबहादुर बम र डुडुवा गाउँपालिकामा उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार रहिजिदा बेगमले पनि उम्मेदवारी फिर्ता गरेका छन् । 

झापा : झापाका १५ तहमा उम्मेदवारी दिएकामध्ये एक सय ३९ उम्मेदवारले दाबेदारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नौजना मेयर–अध्यक्ष छन् भने १० जना उपमेयर–उपाध्यक्ष छन् । सबैभन्दा धेरै अर्जुनधारा गाउँपालिकामा २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सबैभन्दा थोरै कमल गाउँपालिकामा एकजनाको मात्रै उम्मेदवारी फिर्ता भएको छ । 

कचनकवल गाउँपालिकामा केन्द्रको निर्देशनविपरीत कांग्रेस र एमालेले अध्यक्ष र उपाध्यक्ष पदका लागि तालमेल गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएकी एमालेकी दुर्गादेवी नेपाल र उपाध्यक्षमा उम्मेदवारी दिएकी कांग्रेसकी सेलेतुन खातुनले उम्मेदवारी फिर्ता लिएका छन् । अब अध्यक्षमा एमालेले कांग्रेसका कलोन्द्रप्रसादसिंह राजवंशीलाई सघाउनेछ भने कांग्रेसले एमालेका नवराज भट्टराईलाई उपाध्यक्षमा सघाउनेछ । केन्द्रको पाँचदलीय सत्तागठबन्धनले बाहिर तालमेल भए कारबाही गर्ने निर्णय शुक्रबार मात्रै गरेको थियो ।

कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले राप्रपासँग एक्लै लड्न नसकिने भएपछि स्थानीय मागअनुसार एमालेसँग तालमेल गरेको बताए । अधिकांश स्थानीय तहबाट एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको छ । उसका ३५ उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिएकामा दुई नगर प्रमुख र एक उपप्रमुख तथा एक गाउँपालिका अध्यक्ष छन् । एकीकृत समाजवादीबाट सबैभन्दा धेरै अर्जुनधारा नगरपालिकामा १५ र बिर्तामोड नगरपालिकामा सातजनाले उम्मेदवारी फिर्ता लिएका छन् । केहीमा तयारी नपुगेर, केहीमा उम्मेदवारको स्वेच्छा र केहीमा गठबन्धनमा मिलाउनुपर्ने भएर उम्मेदवारी फिर्ता भएको एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीले बताए । 

रुकुम पूर्व : भूमे गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका भीमबहादुर ओलीले दाबेदारी फिर्ता लिएका छन् । एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएका उनले केन्द्रको निर्देशनपछि फिर्ता लिएका हुन् । कांग्रेसको केन्द्रले माओवादीका उम्मेदवार होमप्रकाश श्रेष्ठलाई अध्यक्षमा सघाउन निर्देशन दिएको छ । 

सिराहा : सिराहाका पाँच स्थानीय तहका नौ प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका छन् । गोलबजार नगरपालिकामा एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदका लागि क्रमशः धर्मनाथ महतो र गोमाकुमारी लम्साल, भगवानपुर गाउँपालिका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार कुन्तीकुमारी यादव र रामकुमार यादवले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय भगवानपुरले जनाएको छ । 

औरही गाउँपालिका अध्यक्ष पदका लागि राप्रपाका उम्मेदवार सुकदेव यादव र नेपाल जनता दलका रामविलास यादवले पनि उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, मिर्चैया नगरपालिकाको उपमेयर पदको दाबीबाट लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार गुरियकुमारीले पनि हात झिकेकी छिन् । नरहा गाउँपालिकाको उपाध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएकी पुनम मोचीले पनि दाबी त्यागेकी छिन् । धनगढीमाई नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार विनोद चौधरीको उम्मेदवारी पार्टीले आधिकारिक उम्मेदवार नरहेको पत्र पठाएपछि रद्द गरिएको निर्वाचन अधिकृत महेन्द्र महतोले बताए । 

उम्मेदवारी फिर्ता भएसँगै सिराहाका आठ नगरपालिका र नौ गाउँपालिकामा मेयर–अध्यक्ष पदमा चार सय ७४ तथा उपमेयर–उपाध्यक्ष पदमा एक सय ४६ उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ । 

रोल्पा : रोल्पामा १७ स्थानीय तह प्रमुखसहित एक सय १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रोल्पा नगरपालिकाबाट एक मेयर र दुई उपमेयरले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, उम्मेदवारी फिर्ता लिनेमा १६ जना गाउँपालिका अध्यक्ष र ११ उपाध्यक्ष छन् । 

सुझावित समाचार