नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितको सम्भावना नरहेको बताएका छन्। पहिले र अहिलेको अवस्था धेरै फरक रहेको भन्दै महतले पुनः मेयरमा दोहोरिनेबारे नसोच्न स्थापितलाई सुझाव दिएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा स्थापितले अन्य दलका उम्मेदवारको गेम ओभर भइसकेको टिप्पणी गर्दै आफूले दोब्बर मत ल्याउने बताएका थिए। बिहीबार काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रममा त्यसको जवाफ दिँदै महतले बागमतीमा धेरै पानी बगिसकेको बताएका हुन्।
‘स्थापितले गेम इज ओभर भने, अब उनका लागि गेम ओभर भइसक्यो। अब फेरि फर्केर आउँछु भन्ने नसोचे हुन्छ। बागमतीमा धेरै पानी बगिसक्यो,’ महतले भने, ‘देश मनोरञ्जनले चल्दैन, भ्रममा नपरे हुन्छ।’
निर्वाचन आयोगले आफूहरूसँग स्पष्टीकरण सोधेको विषयमा पनि महतले असन्तुष्टि जनाएका छन्। ओलीले काम नगरी गफ मात्र गर्ने गरेको बताउँदा आयोगले पत्र लेखेर दोहोरो मापदण्ड अपनाएको उनको आरोप छ। उनले भने, ‘हामीले ओलीजी गफ गर्नुहुन्छ हामी काम गर्छौँ भनेर पठाउँदा निर्वाचन आयोगले हामीलाई पत्र नै लेख्यो। हामीले के ओलीको प्रशंसा मात्रै गर्नुपर्ने हो ? निर्वाचन आयोगले पनि यस्तो डबल स्ट्यान्डर्ड नअपनाओस्।’