प्रशिक्षक अलमुताइरीविरुद्ध खेलाडीको विद्रोह

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण
प्रशिक्षक अलमुताइरीविरुद्ध खेलाडीको विद्रोह

बन्द प्रशिक्षणमा प्रशिक्षण लिँदै राष्ट्रिय टोलीका खेलाडी । तस्बिर : एन्फा

अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप नौ खेलाडी बन्द प्रशिक्षण छाडेर हिँडे

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको काम कारबाहीप्रति सन्तुष्ट नभएका नौ जना सिनियर खेलाडीले विद्रोह गरेका छन् । बन्द प्रशिक्षणमा रहेका नौ खेलाडी प्रशिक्षकसँग असन्तुष्टि देखाउँदै मंगलबार रातिदेखि नै होटल गएका छैनन् ।

उनीहरूले बुधबारको नियमित प्रशिक्षणमा सहभागिता जनाएनन् । प्रशिक्षक अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप खेलाडीहरू प्रशिक्षणमा सहभागी नभएका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोटका लागि खेलाडीलाई रंगशालानजिकैको त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । ‘खेलाडीहरूले बुधबारको प्रशिक्षण नै बहिष्कार गरेका छन्,’ एन्फा स्रोतले नयाँ पत्रिकालाई भन्यो, ‘यद्यपि, वार्ताको प्रयास भइरहेको छ ।’

नयाँलाई मौका दिने अलमुताइरीको तयारी
विद्रोह गरेका खेलाडीले अनुशासनहीन काम गरेको जनाउँदै प्रशिक्षक अलमुताइरीले नयाँ जुनियर खेलाडीलाई प्रशिक्षणमा समावेश गर्ने भएका छन् । जुनियर खेलाडीलाई मौका दिँदा सिनियर खेलाडी र मुख्य प्रशिक्षकबीचको विवाद अझै बढ्ने सम्भावना छ । ‘मुख्य प्रशिक्षक अलमुताइरीले १४ जना जुनियर खेलाडीलाई प्रशिक्षणमा राख्न भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘यसले विवाद सुल्झाउनेभन्दा थप बढ्नेछ, खेलाडी र प्रशिक्षकबीचको दूरी फराकिलो हुन सक्छ ।’ 

छिट्टै रिसाउने स्वभावका अलमुताइरी अब सिनियर खेलाडी क्याम्पमा फर्के पनि समावेश नगर्ने पक्षमा छन् । ‘यी सिनियर खेलाडी क्याम्पमा आए पनि म राख्दिनँ,’ अलमुताइरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यी सिनियर खेलाडीले एसिया कप पार लगाउन सक्दैनन्, उनीहरूको स्थानमा नयाँ खेलाडीलाई मौका दिई एक्सपोज गराउँछु ।’ 

२ वैशाखमा एन्फाले एसिया कप–०२३ को प्रारम्भिक प्रशिक्षणका लागि खेलाडी बोलाएको थियो । पहिलो दिनको प्रशिक्षणलगत्तै अलमुताइरीले सहभागी खेलाडीले नेपाललाई एसिया कपमा छनोट गराउन नसक्ने विवादास्पद टिप्पणी गरेका थिए । 

उनको टिप्पणीमा खेलाडीहरू खुसी थिएनन् । नेपाली टोलीका ‘एट्याकिङ डिफेन्डर’ रोहित चन्दले प्रशिक्षकसँगै व्यवस्थापन पक्ष पनि नराम्रो भएको गुनासो गरेका थिए । चन्दले अलमुताइरीलाई प्रशिक्षण अवधिमा बस्ने र खाना व्यवस्था राम्रो नभएको जानकारी दिएका थिए । उनले यस पक्षमा सुधार गर्नुपर्ने जनाए । 

तर, खेलाडीको गुनासो सुन्नभन्दा पनि उल्टै चन्दलाई नै नराम्रो व्यवहार गरेको एन्फा स्रोतको भनाइ छ । रोहितसँगै अन्य खेलाडीले पनि आ–आफ्नो सुविधाका विषयमा आवाज उठाए । यसले खेलाडी र प्रशिक्षक अलमुताइरीबीचको दूरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका चन्दले त्यसपछि सुरुमै क्याम्पबाट बिदा लिएका थिए । प्रशिक्षकले खेलाडीहरूको जायज मागप्रति गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिँडेका हुन् । इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका चन्द यसपटक एसियन कप छनोटका लागि सुरुदेखि नै क्याम्पमा छन् ।

यी हुन् क्याम्पबाट बाहिरिएका खेलाडी

बन्द प्रशिक्षण (क्लोज क्याम्प)बाट बाहिरिनेमा चन्दसहित विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी छन् । बन्द प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले प्रशिक्षक अलमुताइरीले खेलाडीलाई होच्याउने, नेपाललाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने गरेको आरोप लगाएका छन् । 

समर्थकबीच प्रिय अलमुताइरीले पटक–पटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको स्रोतको भनाइ छ । सिनियर खेलाडीहरू असन्तुष्ट बन्दै क्याम्प छोड्दा पनि एन्फा भने मूकदर्शक बनिरहेको छ । एन्फा पदाधिकारीले पछिल्लो घटनाका सम्बन्धमा केही टिप्पणी दिएका छैनन् । 

प्रशिक्षक अलमुताइरी र खेलाडीबीचको विवाद नयाँ भने होइन । यसअघि पनि खेलाडी, एन्फा पदाधिकारी र प्रशिक्षक अलमुताइरीबीच पटक–पटक विवाद भइरहेको छ । गत बर्ष एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण प्रशिक्षकबाटै राजीनामा दिने भन्दै अलमुताइरीले सामाजिक सञ्जालमा लेखेका थिए । उनले आफू कमजोर भएको अवस्थामा राजीनामा दिने धम्की एन्फा नेतृत्वलाई दिँदै आएका छन् । 

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिपपछि उनले नेपाल नै नफर्किने घोषणासमेत गरेका थिए । यसपछि कतार फुटबल संघको मध्यस्थतामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र अलमुताइरीबीच दोहामा वार्ता भएको थियो । कतार फुटबल संघको सहयोगमा अलमुताइरी पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन् । 

See More On

सुझावित समाचार