एमाले : थोरै तालमेल, धेरै ठाउँमा एक्लै लड्दै

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण
  •  सात सय ५३ स्थानीय तहमध्ये सात सय ५० तहको प्रमुखमा एमालेले उम्मेदवारी दिएको छ 
  •  डोल्पाको से फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध भएका छन्

संसद्को ठूलो दल एमालेले सबैभन्दा बढी स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ । सात सय ५३ स्थानीय तहमध्ये सात सय ५० तहमा प्रमुखका लागि उम्मेदवारी दिएको एमालेको दाबी छ । तर, निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमालेका तर्फबाट मेयरमा दुई सय ९० र अध्यक्षमा चार सय ४६ जनाको उम्मेदवारी परेको छ । आयोगको अन्तिम विवरण भने आउन बाँकी छ ।

डोल्पाको से फोक्सुन्डो गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । डोल्पाकै दुई स्थानीय तहको प्रमुखमा एमालेले उम्मेदवारी दिएको छैन । बागमती र लुम्बिनीका केही पालिकामा एमालेसँग तालमेल गरेको माओवादी उम्मेदवार सूर्य चिह्न लिएर उठ्दै छन् । 

६ महानगरमध्ये एमालेले चितवनको भरतपुरमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग उपमेयरमा तालमेल गरेको छ । त्यस्तै, वीरगन्ज महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई उपमेयर दिएर एमालेले मेयरमा तालमेल गरेको छ । ११ वटा उपमहानगरपालिकामा एमालेले कतै पनि प्रमुख पदमा तालमेल गरेको छैन । चितवनकै माडी नगरपालिकामा पनि राप्रपासँगै उपमेयरमा एमालेको तालमेल छ । दुवै पालिकामा एमालेले प्रमुख पद लिएको छ । 

त्यस्तै, उपमेयर र उपाध्यक्षमा क्रमशः दुई सय ८३ र चार सय ४५ उम्मेदवारी परेको छ । त्यस्तै, एमालेबाट वडाध्यक्ष पदमा ६ हजार चार सय ६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्यांक छ । वडाध्यक्ष र सदस्यतर्फ पनि एमालेले नै सबैभन्दा बढी उम्मेदवारी दिएको छ । 

प्रदेश १ : एक पालिकामा जसपासँग तालमेल
प्रदेश १ को एक सय ३७ स्थानीय तहमध्ये दशवटा स्थानीय तहको प्रमुखमा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । धरान उपमहानगरपालिकाको मेयरमा एमालेबाट मञ्जु भण्डारी उम्मेदवार छिन् । त्यस्तै, प्रदेश १ कै इच्छाकुमारी, सिद्धिकुमार र दमक नगरपालिकामा एमालेले महिलालाई मेयरमा उम्मेदवार बनाएको इन्चार्ज देवराज घिमिरेले जानकारी दिए । विराटनगर महानगरपालिकामा एमालेबाट सागर थापा मेयर र शिल्पा कार्की उपमेयरको उम्मेदवार छन् । विराटनगरमा एमालेको पक्षमा राम्रो माहोल सिर्जना भएको इन्चार्ज घिमिरेले दाबी गरे । 

विराटनगर महानगर, इटहरी र धरान उपमहानगरमा एमालेले कतै पनि तालमेल गरेको छैन । त्यस्तै, ३९ नगरपालिकामा पनि तालमेल छैन । बाँकी गाउँपालिकामध्ये पाँचथरको फाल्गुनन्द गाउँपालिकामा उपाध्यक्ष जनता समाजवादीलाई दिएर एमालेले अध्यक्षमा तालमेल गरेको छ । 

मधेस : एक सय ३६ तहमै उम्मेदवारी 
एमालेले मधेस प्रदेशका एक सय ३६ वटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको प्रदेश सचिव डा. कृष्ण पौडेलले जानकारी दिए । वीरगन्ज महानगरपालिकाको उपमेयर भने एमालेले लोसपालाई दिएर तालमेल गरेको छ । कलैया र जितपुर–सिमरा उपमहानगरमा एमालेले तालमेल गरेको छैन । सचिव पौडेलले उम्मेदवारी फिर्ता गर्ने समय अझै बाँकी रहेकाले स्थानीय आवश्यकताअनुसार तालमेलको सम्भावनालाई नकार्न नसकिने बताए ।

बागमती : विद्रोही माओवादी सूर्य चिह्न लिएर तालमेलमा 
बागमतीमा एक सय १९ स्थानीय तह रहेकोमा एमालेले नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मरिन र अर्को एक गाउँपालिकामा माओवादी केन्द्रबाट विद्रोही उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारसँग एमालेले गरेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताए । विद्रोही अध्यक्षका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर उठ्ने तयारी गरेका छन् । बागमतीको काठमाडौं, ललितपुर र भरतपुर महानगरमध्ये भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको छ । हेटौँडा उपमहानगरमा पनि एमालेको तालमेल छैन । 

गण्डकी प्रदेश : ८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा एमालेले सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएकोमा एक पालिका उपप्रमुख निर्विरोध निर्वाचित भएका छन् । मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा मिङमार फुन्चोक लामा सर्वसम्मत निर्वाचित भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए । पोखरा महानगरपालिकामा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा छ ।

२६ नगरपालिका र बाँकी गाउँपालिकामा पनि एमालेले कतै पनि तालमेल गरेको छैन । त्यस्तै, मुस्ताङको लोघ्याकर गाउँपालिकामा तीन वडामा वडाध्यक्षसहित सदस्यहरू निर्विरोध निर्वाचित भएको र घरपजङ गाउँपालिकाको एक वडामा वडाध्यक्षसहित सदस्यहरू निर्विरोध निर्वाचित भएको अध्यक्ष शर्माले जानकारी दिए । 

लुम्बिनी : कांग्रेस, माओवादी केन्द्र र विप्लवको तालमेल 
लुम्बिनीका एक सय नौ स्थानीय तहमध्ये बुटवल, घोराही, तुलसीपुर र नेपालगन्ज चार उपमहानगरपालिका छन् । त्यस्तै, ३२ वटा नगरपालिका र ७३ गाउँपालिका छन् । तीमध्ये रुकुमपूर्व र रोल्पामा कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र गुल्मीमा माओवादी केन्द्र पनि एमालेसँगको तालमेलमा जोडिएका छन् । गठबन्धन दलले विपक्षी एमालेसँग तालमेल नगर्ने निर्णय गरे पनि स्थानीय तहमा भने स्थानीय पार्टीहरूले उल्लंघन गरेका छन् ।

बुटवल उपमहानगरका ११ वटा वडामा केही सदस्य लिएर जनमुक्ति पार्टीले एमालेलाई सघाउने सहमति भएको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । रुकुमपूर्वको भुमे गाउँपालिका र सिस्नेमा कांग्रेसलाई अध्यक्ष दिएर एमालेले उपाध्यक्ष लिएको छ । उता, पुथाउत्तरगंगामा एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएको छ । 

गुल्मीको कालीगण्डकीमा माओवादी केन्द्रले सूर्य चिह्नमा लड्ने गरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई मत दिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ । माओवादीले अध्यक्ष लिएको गाउँपालिकामा भने एमाले आफ्नै सूर्य चिह्नबाट लड्ने कँडेलले बताए । 

रोल्पाको माडीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले, त्रिवेणीमा अध्यक्ष एमालेले र उपाध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । विप्लव, कांग्रेस र एमालेको त्रिपक्षीय तालमेलमा विप्लव नेतृत्वको नेकपालाई सुनसहरी गाउँपालिका अध्यक्ष दिने सहमति भएको छ । त्यहाँ उपाध्यक्ष कांग्रेस र बहुमत वडा एमालेले लिने सहमति छ । नवलपरासीको बर्दाघाट नगरपालिकामा जनमुक्ति पार्टीले एमालेको सूर्य चिह्नमा उपमेयर लड्दै छ भने त्यहाँ एमालेले मेयर लिएको छ । 

कर्णाली : कालिकोटमा माओवादी केन्द्रसँग तालमेल
एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलका अनुसार कालिकोटका स्थानीय तहमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यस्तै, डोल्पाका कतिपय गाउँपालिकामा नेकपा एसले पनि एमालेसँग तालमेल गरेको र हुम्लामा एससँगै तालमेलको प्रयत्न भइरहेको कँडेलले बताए । कर्णालीका ७९ स्थानीय तहमध्ये २५ नगरपालिका छन् । एमालेले ७७ वटा स्थानीय तहमा उम्मेदवारी दिएको छ । डोल्पाको सेफोक्सुन्डो गाउँपालिका अध्यक्ष एमालेबाट निर्विरोध निर्वाचित भएका छन् । 

सुदूरपश्चिम : प्रधानमन्त्रीको गृहजिल्लामा विद्रोही कांग्रेससँग तालमेल 
सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा एमालेले उम्मेदवारी दिएको छ । धनगढी उपमहानगरपालिकामा एमाले गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सातवटै स्थानीय तहमा एमालेले विद्रोही कांग्रेसका उम्मेदवारसँग तालमेल गरेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । डडेल्धुरामा एमालेले चार अध्यक्ष लिएर तीन उपाध्यक्ष कांग्रेस बिपी समूहलाई छाडेको छ । त्यस्तै, तीन प्रमुख कांग्रेस बिपीले लिएको छ । बैतडीको सुरनैया गाउँपालिकामा उपाध्यक्ष राप्रपालाई दिएर एमालेले तालमेल गरेको छ । 

See More On

सुझावित समाचार