उदयपुरका पालिकामा बागी नै बागी

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण
उदयपुरका पालिकामा बागी नै बागी

मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाट ।

उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका छन्। मुख्यगरी पाँचदलीय गठबन्धनमा आबद्ध दलका नेता र एमालेबाट उम्मेदवार बन्न नपाएकाहरूले  स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका हुन्।

आठै पालिकामा रहेको निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिनेहरू १४ जना रहेका छन्। बेलका नगरपालिकामा एमालेबाट मेयरका लागि कृष्ण काफ्लेले बागी उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट बेलकामा मेयरका लागि दुर्गा थापा स्वस्तिकले उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरी, कटारी नगरपालिकामा तीनजनाले बागी उम्मेदवारी दिएका छन्। जसमा सत्तागठबन्धनमा आबद्ध माओवादी केन्द्र प्रदेश १ का सदस्य केपी बरालले मेयरमा स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गरेकाे माओवादी केन्द्र कटारीले जनाएको छ। बरालले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्दै उम्मेदवारी दर्ता गरेका हुन्। कटारी नगरपालिकमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ।

कटारीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन बनेको छ। यहाँ माओवादीको उदयपुर अध्यक्ष विनोद कटुवाल दिवसले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्। कटुवालको विरुद्धमा कांग्रेसका कृष्ण थापाले उपमेयरमा बागी उम्मेदवारी दिएकाे माओवादी केन्द्र कटारीका सचिव वासु कटुवालले बताए। एमाले प्रदेश १ की सदस्य भीमकुमारी राउतले आइतबार नै बागी उम्मेदवारी दर्ता गरेकी थिइन्। यहाँ एमालेबाट ज्ञानेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

यता, त्रियुगा नगरपालिकामा एमालेका मेयरका उम्मेदवार भावत राउतविरुद्ध नारायणकुमार खड्काले बागी उम्मेदवार दर्ता गराएका छन्। खड्का एमालेका स्थानीय नेता हुन्। त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन छ। यहाँ माओवादी केन्द्रले उपमेयर लिएको छ । उपमेयरमा गीता खड्का कार्कीले उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रकी त्रियुगा नेतृ सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिएकी छिन्। एकीकृत समाजवादीबाट बलदेव चौधरीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

चौदण्डीगढी नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार खगेन्द्र राईविरुद्ध कांग्रेसकै प्रशान्त राईले बागी उम्मेदवारी दर्ता गरेका छन्। चौदण्डीगढीमा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन छ। गठबन्धनबाट मेयरका उम्मेदवार नरेन्द्र राउतविरुद्ध माओवादी केन्द्रका नेता कमलध्वज राईले बागी उम्मेदवारी दिएका छन्।

यता, लिम्चुङबुङ गाउँपालिकामा पाँचदलीय गठबन्धन कायम छ। गठबन्धनबाट अध्यक्षमा मेजरकुमार राईले उम्मेदवारी दिएका छन्। राईविरुद्ध माओवादी केन्द्रका स्थानीय नेता होम किराँतीले अध्यक्षमै बागी उम्मेवारी दिएको बताए। ‘मलाई पार्टीले सधैँ काम मात्र लगायो, टिकट दिएन,’ उनले भने, ‘मैले मात्र होइन्, एमालेबाट पनि बागी उम्मेदवार दर्ता भएका छन्।’ एमालेबाट लिम्चुङबुङमा राजकुमार राईले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। उनीविरुद्ध एमाले स्थानीय नेता यादव राई र भलराज राईले बागी उम्मेदवारी दर्ता गराएकाे एमाले लिम्चुङबुङले जनाएको छ।

रौतामाई गाउँपालिकामा पनि पाँचदलीय गठबन्धन कायम छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता वीरेन्द्रकुमार मगरले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्ष नेपाली कांग्रेसको भागबाट भूपेन्द्र थापाले दर्ता गरेका छन्। थापाविरुद्ध उपाध्यक्षमा कांग्रेसबाट कौशल राईले बागी उम्मेदवारी दिएका छन्।

यसैगरी, ताप्ली गाउँपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका नेता ढुंगराज विकले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेकाे माओवादी केन्द्र ताप्लीका अध्यक्ष गुरुबहादुर पोखरेलले बताए। उदयपुरगढी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार गोपाल खत्रीविरुद्ध एमालेकै वसन्त पौडेल र एमाले नेता चक्रबहादुर गुरुङले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन्।

सुझावित समाचार