नयाँ पत्रिकाकर्मीलाई सम्मान र अवार्ड

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण
नयाँ पत्रिकाकर्मीलाई सम्मान र अवार्ड

नयाँ पत्रिकाकर्मी दीपक अधिकारी (बायाँ) र सुदीप सिवाकोटी सम्मानित हुँदै ।

हेटौँडा जर्नालिजम अवार्डमा दुई नयाँ पत्रिकाकर्मीसहित २० सञ्चारकर्मी पुरस्कृत र सम्मानित भएका छन् । न्यु मिडिया एकेडेमी प्रालिले शनिबार बेलुका हेटौँडामा गरेको अवार्ड वितरण समारोहमा नयाँ पत्रिकाका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारीलाई सम्मान गरिएको छ । नयाँ पत्रिकाकै मकवानपुर संवाददाता सुदीप सिवाकोटीले उत्कृष्ट आर्थिक पत्रकारिता अवार्ड प्राप्त गरेका छन् । 

उत्कृष्ट पुरुष पत्रकारिता अवार्ड ग्यालेक्सी टिभीका देवराज पन्त र महिलातर्फ थाहा खबरकी सिर्जना नेपालले पाए भने उत्कृष्ट सम्पादक वर्ष अवार्ड मनहरी एफएमका शिवकुमार रिजाल काशीले जिते । उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड प्रदेश दैनिकका गणेशदर्पण अधिकारी, उत्कृष्ट खोज पत्रकारिता अवार्ड अनलाइन खबरका अमृत चिमरियाले प्राप्त गरेको एकेडेमीका अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । 

अनलाइन पत्रकारिता अवार्ड रातोपाटीका गणेश दुलाल, उत्कृष्ट क्रियाशील पत्रकारिता अवार्ड प्रष्ट खबर डटकमका सुनील सिवाकोटी, उत्कृष्ट कला पत्रकारिता अवार्ड टिम टेलिभिजनका कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता अवार्ड रेडियो मकवानपुरकी सम्झना रिजाल, उत्कृष्ट टेलिभिजन पत्रकारिता अवार्ड कान्तिपुर टिभीका बालकृष्ण अधिकारीले पाउँदा उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्डमा खबर ब्रेकका सुमन दाहाल र पहिलो पोस्ट अनलाइनकी निशा गुरुङले बाजी मारे ।

एकेडेमीले ०७५ दुवईमा पहिलो तथा हेटौँडामा दोस्रो संस्करण आयोजना गरेको थियो । कोभिड महामारीको असरपछि तेस्रो र चौथो अवार्ड समारोह एकपटक आयोजना गरिएको हो । पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्कालगायतले अवार्ड र सम्मान वितरण गरेका थिए । 

सुझावित समाचार