जसपाको घोषणापत्र : हरेक वडामा ५० र नगरपालिकामा पाँच सयलाई रोजगारी

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) ले सुशासन, विकास र समृद्धिको नारा दिएर घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । 

जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो–छरितो सेवा–सुविधा प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने कार्यक्रम घोषणापत्रमा राखेको छ । प्रत्येक वडामा ५० र नगरपालिकामा पाँच सय युवालाई रोजगारी दिने र माध्यमिक तहसम्मको शिक्षा व्यावहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए । 

मधेसी, थारू, मुस्लिम, आदिवासी–जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दुर्गमवासी, महिला, लैंगिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता

त्यस्तै, स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको छ । पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहोरमैला व्यवस्थापनका विषय र विपत् व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मास्टरप्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पु¥याउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनको भनाइ छ । 

जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासी–जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दुर्गमवासी, महिला, लैंगिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँ अनुदान दिनेलगायतका योजना घोषणापत्रमा छ ।

See More On

सुझावित समाचार