खेलाडीलाई दण्ड दिएर रुसी आक्रमण रोकिँदैन

रुसी टेनिस खेलाडीले युक्रेनमा आक्रमण गरेका होइनन्, तिनलाई दण्ड दिँदैमा युक्रेनमा युद्ध रोकिनेवाला छैन

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

गत बुधबार विम्बल्डन च्याम्पियनसिप आयोजना गराउने अल इंग्ल्यान्ड लन टेनिस क्लबले सबै रुसी र बेलारुसी खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । र, यस्तै निर्णय ब्रिटिस लन टेनिस एसोसिएसन (एलटिए) ले पनि गरेको छ । एलटिएको वक्तव्यअनुसार सो निर्णय ‘बेलायत सरकारको नीतिअनुरूप गरिएको’ हो । वक्तव्यमा ‘व्यक्तिगत रूपमा रुसी र बेलारुसी खेलाडीले आफ्नो सरकारसँग सहमत नहुन सक्छन् र असहमति खेलाडीको नियन्त्रणबाहिरको विषय हो’ भन्ने लेखिएको भए पनि ‘यी दुवै मुलुकलाई अन्तर्राष्ट्रिय रूपमै एक्ल्याउने अभूतपूर्व प्रयास भइरहेको अवस्थामा प्रतियोगितामा रुसी र बेलारुसी नागरिकको सहभागिताले त्यहाँको सरकारलाई प्रोत्साहन हुने खतरा छ ।’ यो प्रतिबन्ध दोस्रो विश्वयुद्धपछि जर्मनी र जापानका खेलाडीलाई विम्बल्डनमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाएपछिको हो । 

यस कदमको धेरै आलोचना भएको छ, जसमा वुमन्स टेनिस एसोसिएसन र एसोसिएसन अफ टेनिस प्रोफेसनल्सका आलोचना पनि पर्छन् । रोयटर्सका अनुसार युक्रेनमा रुसले आक्रमण गरेपछि माथिका दुवै टेनिस नियामक निकायले रुस र बेलारुसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाएका थिए । तर, दुवै निकायले व्यक्तिगत रूपमा खेल्ने खेलाडीलाई प्रतिबन्ध लगाउने कदम ‘विभेदकारी’ भएको बताएका छन् । विम्बल्डन प्रतिबन्धको घोषणाअघि न्युयोर्कका स्तम्भकार गेराल्ड मार्जोरटीले प्रख्यात रुसी टेनिस खेलाडी एन्ड्रे रुबलेभले युक्रेनमा भएको रुसी आक्रमणविरुद्ध सार्वजनिक रूपमै विरोध जनाएका थिए भन्ने लेखेका थिए । इएसपिएनको रिपोर्टअनुसार हाल शीर्ष ३० विश्व टेनिस वरीयतामा रुस र बेलारुसका महिला र पुरुषसहित नौ खेलाडी छन् । तर, केहिले भने प्रतिबन्धलाई जायज ठहर्याएका छन् । वासिंगटन पोस्टका स्तम्भकार सेली जेन्किन्सले ‘भ्लादिमिर पुटिनको शासनको क्रूरताका लागि निर्दोष रुसी जनता पनि मूल्य चुकाउन बाध्य हुनेछन्’ भन्दै विम्बल्डन प्रतिबन्ध ‘आवश्यक’ भएको लेखेकी छिन् ।   

यथार्थमा के खेलमा प्रतिबन्ध लाउन आवश्यक छ ? छ भने किन ? युक्रेनमा रुसको आक्रमणका कारण हजारौँ नागरिक बमबारी र भोकमरीको सिकार भएका छन्, यहाँ विध्वंस छाएको छ । धेरै रिपोर्टअनुसार युक्रेनी नागरिक यातना र बलात्कारलगायत अपराधका सिकार भएका छन् । युक्रेनी अधिकारीले मारियोपोल सहरमा मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने बताएका छन् । युरोपमा युद्धले राजनीतिक एवं आर्थिक स्थायित्वलाई कमजोर बनाएको छ, तैपनि युद्धको प्रमुख क्षति मानव जीवन हो । युक्रेनमा बम खसालेर नागरिकको कत्लेआम गर्ने रुसी वा बेलारुसी सरकार वा व्यक्तिमाथि लगाइने जुनसुकै प्रतिबन्धमा पनि मेरो समर्थन छ । उद्देश्य ‘रुसको विश्वव्यापी प्रभावलाई सीमित गर्ने’ अस्पष्ट लक्ष्य नभई युद्ध अन्त्य गरेर नरसंहार रोक्नतर्फ लक्षित हुनुपर्छ र यसैअनुसार प्रतिबन्ध लागू गरिनुपर्छ । युक्रेनमा भएको रुसी आक्रमणका जिम्मेवार रुसी नागरिक वा चर्चित व्यावसायिक टेनिस खेलाडी होइनन् । त्यसैगरी, समस्या वासिंगटनमा रहेको रुसी रेस्टुराँ पनि होइन, जसलाई रुसी आक्रमण भएपछि तोडफोड गरिएको थियो । समस्या युक्रेनमाथि रुसको आक्रमण हो ।   

रुसका आर्थिक इन्जिनलाई नियमन गर्नुका पछाडि रुसको वित्तीय शक्तिलाई कमजोर बनाएर युद्धलाई टिक्न नदिनु हो । लन्डन र अन्य ठाउँमा बसोबास गर्ने रुसी कुलीनलाई नियमन गर्नुका पछाडि तर्कसंगत कारण थियो, जसलाई कांग्रेसका विदेश नीति सल्लाहकार पल मासारोको भाषामा भन्ने हो भने राष्ट्रपति पुटिनको ‘दुष्ट राज्य’लाई ‘सबैभन्दा बढी क्षति पुर्याउनु’ हो । 

तर रुसी र बेलारुसी टेनिस खेलाडीलाई विम्बल्डनमा लगाएको प्रतिबन्धले रुस–युक्रेन युद्धको अन्त्य वा पुटिनको शासनलाई ठोस ढंगले क्षति पुर्याउने देखिँदैन । यदि यी दुई मुलुकका खेलाडीलाई विम्बल्डनमा प्रतिस्पर्धा गर्ने अनुमति दिइन्न भने रुसका राष्ट्रपतिले आफ्नो सैन्य आक्रमणलाई पुनर्विचार गर्नेछन् भन्ने प्रमाण कहाँ छ ? रुसका ड्यानिल मेदवेदेव र बेलारुसकी भिक्टोरिया अजारेन्कालाई च्याम्पियनसिपमा खेल्न नदिँदा पुटिनलाई क्षति पुग्नेछ भन्ने निस्कर्षमा विम्बल्डन र एलटिएका निकाय कसरी पुगे ? स्पोर्ट्स इलस्ट्रेटेडको रिपोर्टअनुसार एक खेलाडीले पुटिनले टेनिसमा कुनै चासो नदिने गरेकोसमेत बताएका छन् । 

यो कारबाहीबाट विम्बल्डनले रुसी वा बेलारुसी झन्डामुनि प्रतिस्पर्धा गर्ने टिमलाई प्रतिबन्ध लगाएको होइन । वास्तवमा टेनिस खेलाडी स्वतन्त्र छन् । विम्बल्डनजस्ता ठूला प्रतियोगितामा खेलाडी आफ्नो देशका लागि प्रतिस्पर्धा गर्दैनन् । देशवासीले वाहवाहीपूर्ण प्रोत्साहन गरे पनि खेलाडी आफ्नै लागि खेल्छन् । त्यसो भए प्रतिबन्धले के गर्छ ? यसले केवल कारबाही गरियो भन्ने मात्रै जनाउँछ र सम्भवतः उद्देश्य पनि यही देखिन्छ । युक्रेनी जनतामाथि मच्चाइएको हिंसाविरुद्ध केही न केही गरौँ भन्ने आवेग तपाईं, म वा विम्बल्डनसँग छ भन्नेमा सन्देह रहेन । केही न केही गरौँ भन्ने आवेगले चित्त बुझाउने काम गर्न सक्छ । तर, हरेक चित्त बुझाउने काम सही नहुन सक्छन् वा त्यसको कुनै अर्थ नहुन सक्छ । रुसी टेनिस खेलाडीले युक्रेनमा आक्रमण गरेका होइनन् र तिनलाई दण्ड दिँदैमा युक्रेनमा युद्ध रोकिनेवाला पनि छैन । तैपनि विम्बल्डन र एलटिएका निकायलाई प्रतिबन्ध लगाएर हामी केही न केही गर्यौँ भन्ने लाग्छ भने मेरो भन्नु केही छैन । द न्युयोर्क टाइम्सबाट

सुझावित समाचार