एमाले उदयपुरले टुंग्यायो उम्मेदवार, आठ पालिकामध्ये ६ वटामा नयाँ अनुहार

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले उदयपुरले आठै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । चार नगरपालिकामा नगर प्रमुख तथा नगर उपप्रमुख र चारै गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवारको टुंगो लगाएको हो । 

चार नगरपालिकामामध्ये बेलका नगरपालिकामा दुर्गा थापा स्वस्तिक र कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ काजी नगरप्रमुखमा दोहोरिएर उम्मेदवार बन्ने भएका छन् । बाँकी ६ वटा पालिकामा नयाँ अनुहारले मौका पाएका छन् । श्रेष्ठ र थापा ०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित नगरप्रमुख हुन् । नगरउपप्रमुखमा कटारीमा गीता खड्का र बेलका जिरा राईको नाम टुंगो लागेको छ । दुवैजना नयाँ हुन् । 

एमाले उदयपुरका अध्यक्ष परमेश घिमिरेका अनुसार यसैगरी चौदण्डीगढी नगरपालिकामा नगरप्रमुखमा कालु लामा, उपप्रमुखमा मणिका दुलाल उम्मेदवार बन्ने भएका छन् । यता त्रियुगा नगरपालिकामा भागवत राउत नगरप्रमुखमा र उपप्रमुख महेश्वरी राई उम्मेदवार बन्ने टुंगो लागेको घिमिरेले बताए ।

यसैगरी, उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपालबहादुर खत्री, उपाध्यक्षमा कुमारी मगर, रौतामाई गाउँपालिकामा भरत थापा अध्यक्ष, कुमारीज्यू राना उपाध्यक्षको उम्मेदवार बन्ने भएकी छिन् । कुमारी दोहोरिने एक मात्र उपाध्यक्ष हुन् । 

यसैगरी, लिम्चुङबुङ गाउँपालिकामा अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा देवीकुमारी कार्की रहेको घिमिरेले बताए । ताप्ली गाउँपालिकामा अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मनकुमारी थापालाई उम्मेदवार बनाउने टुंगो केन्द्रले लगाएको अध्यक्ष घिमिरेको भनाइ छ । 

‘पालिकाबाट सिफारिस भएर जिल्ला हुँदै प्रदेश र पार्टी केन्द्रमा पुगेका नामहरूबाट उम्मेदवारको टुंगो लगाइएको हो,’ अध्यक्ष घिमिरेले भने, ‘मनोनयन दर्ता गर्ने वेलासम्म आवश्यक परे  केही नाम परिवर्तन हुनेछ, त्यो केन्द्रले नै गर्नेछ ।’
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार