आठ देशका १० सहरमा नेवानिको उडान ८० प्रतिशत सिट भरिभराउ

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको  दुईवटा उडान सुरु गरेको नेवानिकी प्रवक्ता अर्चना खड्काले बताइन् । 

नेवानिले भारतका तीनवटा सहर दिल्ली, मुम्बई र बैंग्लोरमा उडान गर्दै आइरहेको छ । दिल्लीमा दैनिक दुईवटा, मुम्बई र बैंग्लोरमा सातामा तीन–तीनवटा उडान गरिरहेको नेवानिले जनाएको छ । यस्तै, नेवानिले कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ र जापानको नारितामा उडान गर्दै आइरहेको छ ।

नेवानिले क्वालालम्पुर र बैंककमा पनि साताको तीन–तीन वटा उडान गरिरहेको छ । दोहामा साताको पाँच, दुबईमा पनि साताको पाँच, हङकङमा एक र नारितामा तीनवटा उडान गर्दै आइरहेको नेवानिले जनाएको छ । छिट्टै दोहा र क्वालालम्पुरमा दैनिक एक–एक उडान सञ्चालन गर्ने नेवानिको तयारी छ । उल्लिखित गन्तव्यका उडानहरूमा नेवानिका जहाजका सिटहरू ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेको निगमको दाबी छ । नेपालीको प्रमुख श्रम गन्तव्यहरूमा नेवानिले उडानलाई प्राथमिकता दिइरहेको छ । कतार, मलेसिया, साउदी अरेबिया, भारत, दुबईलगायत मुलुक नेपालका प्रमुख श्रम गन्तव्य हुन् ।

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी एयरबस–३२० र दुईवटा वाइडबडी एयरबस–३३० जहाज रहेका छन् । नेवानिको काठमाडौं–दिल्ली–काठमाडौं उडानमा यात्रु खचाखच हुने गरेका छन् । 

पछिल्लो समय नेवानिले आफ्ना जहाजलाई पूर्ण क्षमतामा उडाउन विभिन्न देशमा उडान विस्तारमा तीव्रता दिइरहेको छ । भइरहेका गन्तव्यमा उडान थप्ने र अहिले उडान नभइरहेका सम्भावित गन्तव्यमा उडान सुरु गर्ने निगमले रणनीति बनाएको छ ।

See More On

सुझावित समाचार