एमालेको चुनावी घोषणापत्र : समृद्धि अभियानका लागि सत्रबुँदे कार्यक्रम

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

जबज आजको मार्क्सवाद–लेनिनवाद हो : ओली 

एमालेले स्थानीय तहमा सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको अभियानलाई तीव्रता दिने प्रतिबद्धतासहित सत्रवटा विषय र क्षेत्र समेटेर स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 

नेकपा स्थापनाको ७४औँ वर्षगाँठ तथा पार्टीको स्थानीय तहको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी ओलीले भने–

जनताको बहुदलीय जनवाद आजको मार्क्सवाद–लेनिनवाद हो । सिद्धान्त, नीति, विचार र आजको बाटो हो, यो त्यत्तिकै अकारण भनेको होइन, अर्थपूर्ण ढंगले नै भनिएको हो, नेपाल राष्ट्रको सही विचार जबज र राष्ट्रलाई सही ढंगले नेतृत्व गर्ने पार्टी एमाले नै हो । आज एमाले घरघरमा मात्र होइन, जनताको मनमनमा पुगेको छ । संसारको जुनसुकै कुनामा भएका नेपालीको मनमा पनि पुगेको छ । त्यही भएर एमालेलाई सरकारबाट जालझेल गरेर हटाइएको छ, तर पनि हामी प्रसन्न छौँ, किनभने हामी जनजनका मनमा छौँ, यो एमालेको सफलता हो ।

‘सुशासन, समृद्धि र समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार’ मूल नारा रहेको ४७ पृष्ठ लामो चुनावी घोषणापत्र शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका छन् । आकर्षक नाराहरूसहित समेटिएको घोषणापत्रमा अग्रगतिको बाधक बनेको वर्तमान सरकार विस्थापन गरी एमालेको नेतृत्वमा सरकार बनाउन आह्वान गरिएको छ ।

७४औँ पार्टी स्थापना दिवसका अवसरमा एमालेले स्थानीय निर्वाचनका लागि केन्द्रमा चुनावी घोषणपत्र र सात सय ५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मुलुकलाई तिक्तता, प्रतिशोध, घृणा, द्वन्द्वतिर धकेलिरहेको, प्रतिपक्षी दलविरुद्ध मोर्चाबन्दी गर्ने, हिंसालाई दुरुत्साहन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र मुख्य राष्ट्रिय प्रश्नमा सहमति त कुरै छाडौँ, सामान्य परामर्शसमेत गर्न अक्षम भएको भन्दै गठबन्धन सरकार विस्थापन अनिवार्य भएकोमा जोड दिइएको छ । 

‘मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ । राजनीतिक अवसरवाद, सत्तास्वार्थ र अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने अनिवार्य छ,’ घोषणापत्रमा छ, ‘संघीयताको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व एमालेलाई सुम्पेर मात्रै हामी राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात गर्न सक्छौँ ।’ 

एमालेले घोषणापत्रमा माध्यमिक शिक्षामा सबैको पहुँच पुर्‍याउने, सामुदायिक शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, प्रयोगशाला निर्माणलगायत सबै सुविधा पुर्‍याउने, प्रत्येक पालिकामा एउटा प्राविधिक धारको विद्यालय स्थापना गर्ने, शिक्षालाई सीप र रोजगारीसँग जोड्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्षम बनाउनेलगायतका विषय समेटेको छ । 

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, जटिल रोगको नि:शुल्क उपचारको व्यवस्था, प्रत्येक पालिकामा आधारभूत अस्पताल, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रत्येक नागरिकको स्वास्थ्य बिमा, आयुर्वेद, योग, प्राकृतिक चिकित्साको प्रवर्द्धन, मदिरा सेवन, धूमपान, लागुऔषध सेवनलाई निरुत्साहनजस्ता विषय घोषणापत्रमा समेटिएको छ । 

सबै नागरिकको घरमा विद्युत् सेवा उपलब्ध गराउने, विपन्न परिवारलाई विद्युत् निःशुल्क गर्ने, ऊर्जा उत्पादनमा पालिकाको सहभागिता सुनिश्चित गर्ने, जलविद्युत् आयोजनामा समुदायलाई साझेदार बनाएर लाभान्वित बनाउनेजस्ता विषय घोषणापत्रमा छन् । 

यसैगरी, घोषणापत्रमा मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, भूउपयोग नीति प्रभावकारी कार्यान्वयन गर्ने, व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत जमिन उपलब्ध गराउने, सबै कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने, कृषि क्षेत्रमा पकेट, ब्लक, जोन, सुपरजोनलाई व्यवस्थित गर्ने, पालिकाहरूमा खाद्य बैंक स्थापना गर्नेजस्ता विषय पनि छन् ।

एमालेले प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, वडालाई केन्द्रसँग जोड्ने, सडक निर्माण गर्दा दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययनसहित मापदण्ड पालना गराउने, जथाभावी डोजर प्रयोगमा बन्देज गर्ने, ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायतको यातायात प्रणाली विकास गर्ने, मोटरबाटो पुग्न कठिन ठाउँमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने, हवाई र जलयातायात विस्तार गर्नेजस्ता विषय घोषणापत्रमा समेटेको छ ।

त्यस्तै, घोषणापत्रमा घरविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था, दलित समुदायका लागि आवास कार्यक्रम, एकीकृत बस्ती निर्माण, सार्वजनिक जग्गाको संरक्षण, प्रत्येक पालिकामा एक औद्योगिक ग्राम, खानी तथा खनिज पदार्थको उत्खननजस्ता कार्यक्रम छन् । यसबाहेक उद्यमशीलता विकास, रोजगार सूचना केन्द्रलाई प्रभावकारी बनाउने, रोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋणको प्रबन्ध, सहकारीमार्फत स्थानीय पुँजी संकलन गरी उत्पादन वृद्धि र रोजगारीको सिर्जना पनि घोषणापत्रमा छ । 

बचत तथा ऋण सहकारीलाई उत्पादन क्षेत्रमा लगाउने, पयर्टकीय स्थलको प्रवद्र्धन, राज्य र समाजका हरेक अंग र क्रियाकलापमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता, ज्येष्ठ नागरिकको हक कार्यान्वयनसम्बन्धी विभिन्न कार्यक्रम चलाउनेजस्ता विषय पनि घोषणापत्रमा समेटिएको छ । 

सुशासनको क्षेत्रमा प्रभावकारी काम गर्ने, सूचनाको हकलाई कार्यान्वयन गर्नेजस्ता विषय पनि घोषणापत्रमा समेटिएको छ । त्यस्तै, चुनावी घोषणापत्रमा स्थानीय तहमा एमालेका सरकारले कैयौँ नमुना काम गरेको दाबी गर्दै समेटिएको छ । 

सुझावित समाचार