डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका डा. टड्रोसले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेटेका हुन्। 

भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक टड्रोसलाई आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको मन्त्री खतिवडाले बताए। त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको कीटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उनले जानकारी दिए। 

महानिर्देशक डा. टेड्रोसले शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले टेकु अस्पतालमा रहेको ल्याब निरीक्षण गर्ने, पाटन स्कुलको निरीक्षण गर्नेलगायतको कार्यक्रम रहेको जनाइएको छ। भेटवार्ताको क्रममा उनले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनी प्रशंसा गरेको मन्त्री खतिवडाले बताए।
 

सुझावित समाचार