सुशासन र समृद्धि समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार
प्रमुख विपक्षी दल एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको छ । पार्टी स्थापना दिवस ९ वैशाखमा सार्वजनिक गर्ने गरी एमालेले तयार गरेको चुनावी घोषणापत्रको मूल नारा सुशासन र समृद्धि समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार तय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको मस्यौदा समितिले तयार पारेको चुनावी घोषणापत्र पारित गरेको थियो । एमालेले ९ वैशाखमै सात सय ५३ ओटै पालिकामा पनि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ ।
घोषणापत्रको सुरुको खण्डमा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै चुनाव सर्वोच्च अदालतको परमादेशबाट बनेको सत्तारूढ गठबन्धन र एमालेबीच मिनी जनमतसंग्रहका रूपमा हुन गइरहेको चर्चा गरिएको छ । शान्ति, स्थिरता, समृद्धि र समाजवादको आधार तयारीका लागि एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गरिएको छ ।
त्यस्तै, तीन वर्षमा एमाले नेतृत्वको केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका काम र उपलब्धिहरूको सविस्तार चर्चा गरिएको छ । आगामी दिनमा एमाले नेतृत्वको स्थानीय सरकारले गर्ने कामका बारेमा विस्तृत रूपमा घोषणापत्रमा समेटिएको मस्यौदा लेखन समितिका एक सदस्यले बताए । ‘एमालेको सरकारले विस्तृत रूपमा के गर्नेछ भन्ने विषयलाई घोषणापत्रमा समेटिएको छ,’ ती सदस्यले नयाँ पत्रिकासँग भने, ‘कुन–कुन क्षेत्रमा के गरिन्छ भन्ने कुरा प्रस्टसँग राखिएका छन् ।’
शिक्षा, कृषि, उद्योग, वन, पर्यटन, जलस्रोत, आवास, सञ्चार, सहकारी, रोजगारी अभिवृद्धिलगायतका विषयवस्तु एमालेले घोषणापत्रमा समेटेको छ । एमालेले पोखरेल नेतृत्वको कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा पेस गर्न निर्देशन दिएको थियो । उपाध्यक्ष ज्ञवालीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, स्थायी कमिटी सदस्य देवेन्द्र दाहाल, प्रभु साह थिए । त्यस्तै, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली घोषणापत्र मस्यौदा कार्यदलमा थिए ।